सिमाना मिचिएकाे विरोधमा सात विद्यार्थी संगठनले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र !



काठमाडौं । सात विद्यार्थी संगठनहरूले मिचिएकाे नेपाली भूमि भारतले फिर्ता गराउन सडक आन्दोलन गर्ने जनाएका छन् । आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै सात विद्यार्थी संगठनले नेपाली भूमि फिर्ता गराउन सडक आन्दोलन गर्नकाे लागि तयार रहन सम्पूर्ण देशभक्त विद्यार्थी तथा जनसमुदायमा आव्ह्वान गरेका छन् । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का चिरञ्जीवी ढकाल, अखिल (पाँचाैं)का घनश्याम मिश्र, अखिल (क्रान्तिकारी) का आलाेक रायमाझी, राप्रविसंघका महेश बहादुर विष्ट, अखिल नेपा विद्यार्थी युनियनका सन्देश भट्टराई र राप्रविसंघ (संयुक्त) का अध्यक्ष धनसुर शाहीद्वारा हस्ताक्षरित संयुक्त प्रेस वक्तब्यमार्फत तत्काल कुटनीतिक पहल गरी मिचिएका भूमि फिर्ता गर्न गराउन विशेष पहल लिन माग गरेको छन् ।

उनीहरूले लिपुलेक सम्झाैतामा भारतका साथै चीनकाे भूमिकासमेत नेपालकाे सार्वभाैमसत्ता र अखण्डताकाे विरूद्धमा भएकाे हुनाले दुवै देशलाई उक्त सम्झाैता खारेज गर्न चेतावनी दिएका छन् । “नेपाली भुभाग मिचेर भारतीय विस्तारवादले सडक बनाएको प्रति अखिल (पाँचौ ) लगायतका संगठन सडकमा आउन तयार छ”अध्यक्ष घनश्याम मिश्रले भने । उनलेे सत्ता बाहिर हुँदा चर्को राष्ट्रवादकाे नारा लगाउनेहरुकाे नियत अहिले उदांगिएकाे उनको तर्क छ ।

प्रकाशित मिति : २०७७ बैशाख २८ गते आइतवार