काठमाडौँ । ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन नहोस् र कतिपय राजनीतिक एजेन्डाविपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोस र देशमा केही त परिवर्तन होला कि भन्ने आशा जगाउने गर्नुहुन्थ्यो । कमब्याक हिरो ।’ उपर्युक्त धारणा नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो फेसबुकमा लेखेका हुन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको यस्तो अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेर भने, ‘म त चाहन्छु डा.सीके राउतको नेतृत्वमा सरकार बनोस्, मधेसले पाओस्, मेरो समर्थन छ । मधेसले पाओस् न प्रधानमन्त्री, म त्यसमा छु, तर संख्याले दिँदैन नि । अफकोर्स– नो नोट अगेन । हामी अहिले पनि नो नोट अगेन भनिरहेका छौं ।’
सरकारमा जाने वा नजाने भन्ने विषयमा यी दुई दलले संयुक्त रुपमा निर्णय गर्ने जनमत पार्टीका नेताहरु बताउँछन् । वर्तमान सरकारमा जनमत र राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी छैनन् तर सरकारप्रतिको समर्थन दुवै दलले कायम राखेका छन् । सरकारबाट समर्थन फिर्ता लिने अवस्था आएमा दुवै पार्टीले एक साथ निर्णय लिने बताइन्छ ।
मधेसमा जनमत पार्टीको जनाधार छ भने पहाडमा रास्वपाको जनाधार राम्रो छ । कार्यगत एकताले आगामी चुनावमा सरकारकै नेतृत्व गरेर अगाडि बढ्ने सहमति दुवै दलको बीचमा भएको पनि जनमत पार्टीका नेताहरु बताउँछन् ।





