कालिका नगरपालिका-७ स्थित उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ।
सामुदायिक वनको क्षेत्रभित्र रहेको संरक्षित वन खण्डको केउरेनी घोल नजिकै शनिबार दिउँसो बाघ मृत भेटिएको हो। मृत बाघ अन्दाजी ६ वर्षको रहेको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए।
उक्त बाघको शनिबार नै पोस्टमर्टम गरिएको छ।
‘करिब १२ घण्टा अघि मरेको अनुमान डाक्टरहरूले गर्नुभयो। बाघको पेटभित्र बाख्राको अंग भेटिएको थियो। उसको मुख र मलद्वारबाट सेतो फिँज निस्किएको थियो। त्यसैले उसको आहारमा विष परेको हुनसक्ने प्रारम्भिक अनुमान छ,’ खनालले भने, ‘नमूना परीक्षणका लागि प्रयोगशालामा पठाएका छौं। दुई दिनमा रिपोर्ट आउँछ।’
प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार





