नक्कली मेनपावर चलाउने व्यक्ति प्रहरीको फन्दामा, ९० थान पासपोर्ट बरामद



काठमाडौँ । काठमाडौँमा नक्कली मेनपावर कम्पनी खडा गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर १४ गाईबाच्छाटोल बस्ने आदेश तामाङ रहेका छन् ।

उनले केएचएम रिक्रुइटमेन्ट ग्रुपबाट मलेसिया पठाउने भन्दै ठगी गरेको सूचनामा आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली छापा मार्न पुगेको थियो । सो क्रममा प्रहरीले कीर्तिपुर नगरपालिकामा रहेको सो नक्कली मेनपावरका तामाङलाई पक्राउ गरेको हो ।

उनले रविन मोक्तानसहित १०० जना भन्दा बढी व्यक्तिहरुलाई आकर्षक तलबमा मलेसिया पठाइदिने भन्दै ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

मेनपावरबाट प्रहरीले ९० थान पासपोर्ट, नक्कली कम्पनीको छाप, ल्यापटपलगायतका सामग्री बरामद गरेर कारबाही प्रक्रिया अघि बढाएको कार्यालयका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार