रामेछाप । दक्षिण कोरियाबाट फर्केका एक युवकले गाउँमै लाखौं रुपैयाँ कमाउन थालेका छन् । उनले थप २ जनालाई रोजगारीसमेत दिएका छन् ।
रामेछापको खाँडादेवी-८ गागलमा पर्ने कालेमालेका जनकलाल तामाङले मेवा खेती गरेर आर्थिक आर्जन गर्न थालेका छन् । उनको मेवा खेतीको यतिबेला जिल्लाका विभिन्न भागमा चर्चा हुन थालेको छ । मेवा फार्ममा पुग्नेले प्रतिकेजी ५०/६० रुपैयाँमा मेवा पाउन थालेका छन् । बजारमा मेवाको मूल्य प्रतिकेजी १ सय ५० सम्म चलेको छ ।
तामाङ ७ वर्ष दक्षिण कोरिया काम गरेका थिए । मासिक २ लाखभन्दा बढी कमाउँथे । कोरोना संक्रमण बेला स्वदेश आएका थिए । उनको कोरिया यात्रा पूर्णविराम लाग्यो । आफ्नो खाली रहेको जग्गामा मेवाको व्यावसायिक खेती गर्न थाले । आज उनको कमाइले गति लिएको छ । पाकेको मेवा बजारमा पुर्याएर जोखेर बेच्नु परम्परागत चलन निरन्तर छँदै छ । तामाङले मेवा मेवाको चकलेट र जुस बनाउने उद्योग गाउँमै स्थापना गर्ने सपना साकार पार्न कुदिरहेका छन् । ‘चाडै काम भइदियो भने अबको ४ महिनामा उद्योग सञ्चालन गर्ने तयारीमा जुट्दै छु,’ तामाङले भने, ‘थकाइ मार्दिनँ, आफ्नै माटोमा केही गरेर देखाउँछु ।’
तामाङले मेवा खेती गरेको स्थान जिल्ला सदरमुकामबाट झन्डै २५ किलोमिटर टाढा पर्छ । चकमन्न गाउँको बीचमा पर्ने कालोमालेमा आफ्नो र दाजुभाइको समेत गरी ३८ रोपनी जग्गामा मेवा लगाएका छन् । दुई वर्षअघि लगाएका बिरुवाबाट राम्रो फल लागेपछि उनी अझ खेती विस्तारका लागि हौसिएका हुन् । ‘मैले अरूको जग्गा भाडामा लिएर थप ३० रोपनी जग्गामा मेवा खेती गर्ने गरी जग्गाको व्यवस्थापन गर्दै छु,’ तामाङले भने ।
दुई वर्षअघि ५ हजार बिरुवा लगाएका तामाङले सबै बिरुवा जोगाएर फलाउन सकेनन् । किरालगायतको संक्रमणले झन्डै १ हजार २ सय बिरुवा खेर गए । अहिले उनको फार्ममा ३ हजार २ सय मेवाको बोट हुर्केका छन् । प्रतिबोट ८ सय जति खर्च लागेको बताउने तामाङले कालेमालेको माटोमा मेवा फलाउन झन्डै ३५ लाख खर्चिसकेका छन् । लगानी थप्ने योजना बुनिरहेका छन् । ‘बल भएका बेला विदेशमा गएर काम गर्दा कमाइएला तर वृद्ध अवस्थामा के गर्ने रु’ तामाङ भन्छन्, ‘त्यसैले आफ्नै गाउँठाउँमा गरिखाने केही गर्नुपर्छ भनेर जुटेको हुँ ।’
मेवा सबैले रुचाउने फल भएकाले बजारको अभाव नभएको उनी बताउँछन् । रोपेको ५० दिनदेखि फल लाग्न थाल्ने मेवाले ७ महिनामा उत्पादन दिन्छ । हालसम्म ११ हजार ८ सय केजी मेवा काठमाडौंको बजारमा पुर्याएको उनले बताए । यो वर्ष करिब ३५ हजार केजी मेवा बिक्री गर्ने लक्ष्य लिएका छन् । एउटै दाना ५ केजीसम्मको मेवा फल लाग्ने गरेको छ । एक पटक लगाएको बिरुवाले ३ वर्षसम्म राम्रो उत्पादन दिने उनले जनाए ।





