कोरियामा कोभिड भिसा थपिएका श्रमिकलाई पुनः श्रम स्वीकृति लिन ईपीएस शाखाको आग्रह



दक्षिण कोरियामा करार अवधि समाप्त भएपछि कोभिड भिसा थप भएका श्रमिकहरुले बाँकी अवधिको लागि पुनः श्रम स्वीकृति लिनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । रोजगार अनुमती प्रणाली (ईपीएस)मार्फत ई-९ भिसामा कोरिया गएर कोरोनाका कारण पुनः श्रम गर्न नपाएकाहरुलाई ईपीएस कोरिया शाखाले पुनः श्रम स्वीकृति लिन आग्रह गरेको हो ।

शाखाका अनुसार ईपीएसबाट ई-९ भिसामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुले बाँकी अवधिको लागि अनलाइबाटै पुनः श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गरिएको छ । तर त्यसको लागि वैदेशिक रोजगार विभागको सफ्टवेयर एफईआईएमएसमा जी टू जी लिंक दिनुपर्ने हुन्छ ।

सम्बन्धित श्रमिकहरुको राहदानी नम्बरलाई ईपीएस शाखाबाट जी टू जी मा लिंक ईपीएस शाखाले नै गरिदिन्छ । त्यसको लागि श्रमिकले सर्वप्रथम आवश्यक कागजातसहित ईपीएस शाखामा इमेल गर्नुछ । श्रम स्वीकृतिको आवेदनलाई जी टू जी मा लिंक गरिदिनु भन्ने निवेदन, राहदानीको स्क्यान कपी, ई-९ भिसा थप भएको भिसाको स्क्यान कपी र यसभन्दा पहिले ई-९ भिसामा श्रम स्वीकृति लिएको स्टिकरको स्क्यान कपी कार्यालयको ईमेल ठेगाना eps.reentry@gmail.com मा पठाउनुपर्छ ।

ईपीएस शाखाले एफईआईएमएसमा जी टू जी लिंक दिएपछि बल्ल श्रमिक आफैले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार