डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थप



कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा पक्राउ परेका डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थपिएको छ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न चार दिन म्याद थप गरेको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। तीनकुने गैरीगाउँ बस्ने ४६ वर्षीय खनाललाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको थियो।

आफूलाई मानहानी गरेको भन्दै उनले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी चर्चामा आएका थिए।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार