नेपालगञ्जदेखि आएको जहाज पुग्यो भद्रपुर, मलेसियाबाट आएको कलकत्तामा



काडमाडौं । त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ। शुक्रबार बिहान भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् भने केही आकाशमै होल्ड गरिएका छन्।

विमानस्थलका एकजना एटिसीका अनुसार अहिले विमानस्थलको भिजिविलिटी १६ सय मिटर छ। नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि झापाको भद्रपुर पुगेको छ।

चार जना चालक दलका सदस्य र ५२ यात्रु बोकेको जहाज शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलबाट साढे ७ बजे उडेको थियो।काठमाडौं विमानस्थलमा अवतरण गर्न भिजिबिलिटी नपुगेपछि जहाज भद्रपुर गएको श्री एयरलाइन्सले जनाएको छ।

‘काठमाडौं र आसपासका अन्य विमानस्थलहरू भरतपुर, सिमरा र विराटनगर पनि भिजिबिलिटी नभएपछि जहाज भद्रपुर गएको हो,’ श्री एयरलाइन्स स्रोतले भन्यो।

उता मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि पश्चिम बंगालको कलकत्तामा पुगेको छ। आरएनए ४१६ जहाज कलकत्ता पुगेको हो।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार