विदेशबाट के-कस्ता सामान ल्याउँदा नेपालमा भन्सारमा छुट हुन्छ?



नेपाली नागरिकले विदेश गएर फर्कँदा आफ्नो साथमा भएको सरसामानमा कुनै पनि महसुल तिर्नु पर्दैन। लुगाफाटा, घर गृहस्थीका सामान, उपचार गर्न गएका व्यक्तिले ल्याएको औषधि, ५० ग्रामसम्म सुनको गहना, ट्याबलेट, ल्यापटप, मोबाइल र पेन ड्राइभ एक-एक थान ल्याउँदा भन्सार महसुल पूर्णतया छुट हुन्छ। यस्तै एक लिटरसम्म मदिरा पनि ल्याउन पाइन्छ।

त्यस्तै डाक्टरले स्टेथस्कोप, खेलाडीले फुटबल, भलिबल र ब्याण्डमिन्टन, गायक तथा संगीतकारले गितार, हार्मोनियम जस्ता समान ल्याउन पाउँछन्। तर नेपाली नागरिकले विदेश घुम्न गएर फर्कँदा ल्याउने कतिपय सामानमा भने महसुल तिर्नुपर्छ।

टेलिभिजन, म्युजिक सिस्टम, पङ्खा लगायत एक-एक सेट ल्याउँदा महसुल तिर्नुपर्छ। लुगाफाटा, जुत्ता, कस्मेटिक पन्ध्र थान भन्दा बढि ल्याउँदा पनि शुल्क तिर्नुपर्छ। तर यसरी तिर्नुपर्ने महसुलमा भने छुट पाइन्छ। यदि तपाईं ६ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसेर फर्कनुभएको छ भने तपाईँले तिर्ने महसुलमा १५ हजारसम्म छुट हुन्छ।

त्यस्तै एक वर्षभन्दा बढी अवधि विदेश बसेर फर्कनुभएको छ भने पच्चीस हजारसम्म छुट पाइन्छ। त्यस्तै विदेशमा बसेका नेपालीले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई अमेरिकी डलर ३ सय ५० सम्मका सामान पठाएमा महसुल लिएर भन्सारले जाँचपास गरिदिन्छ।

तर चुरोट २ सय खिल्लीसम्म वा सिगार पचास भन्दा बढी ल्याउँदा भने तोकिएको भन्दा बढी सामानमा शत प्रतिशत भन्सार थप तिर्नुपर्छ। विदेशबाट आउँदा जस्तै जाँदा पनि कतिपय सामानमा भन्सार छुट हुन्छ भने कतिपयको भन्सार तिर्नुपर्छ।

तपाईंले विदेश जाँदा कसैलाई उपहारको रूपमा ५० हजारसम्मको सामान लैजान सक्नुहुन्छ। त्यसमा कुनै महसुल तिर्नुपर्दैन। तर तपाईँले यसरी सामान लैजाँदा कर तिरेको र मुल्य खुलेको बिल पनि साथमा राख्नुपर्छ।

गैरआवासीय नेपालीहरुलाई यसरी यात्रा गर्दा सरकारले सामान अनुसार विभिन्न महसुलमा छुट दिने गरेको छ। विदेशी नागरिकले भने नेपाल आउँदा आफ्नो निजी प्रयोगका सामानहरु ट्याबलेट, क्यामेरा, भिडिओ क्यामेरा, लुगाफाटा, साइकल, घडी, मोबाइल एउटासम्म ल्याउँदा कुनै महसुल तिर्नुपर्दैन।

विदेशी नागरिकले ५० ग्राम भन्दा बढी सुनका गहना लगाएको भए विमानस्थलको भन्सारले सुरक्षीत राखिदिन्छ र फर्कदाँ फिर्ता दिन्छ।

सरकारले सामान्यतया जेठ १५ गते बजेट ल्याउँदा नै कुन सामानमा कति भन्सार महसुल लगाउने भन्ने निर्णय गर्छ। त्यस आधारमा तपाईँले हवाइ यात्रा गर्दा ल्याउन लाग्नु भएको सामानमा लाग्ने महसुल दर समेत हेरफेर हुन्छ। के कस्ता सामान ल्याउन पाइने र कस्ता छुट हुने भन्ने कुरा राजपत्रमा प्रकाशित हुन्छ।

[dflip id=”24271″ ][/dflip]

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार