विद्युतजन्य आगलागी तथा दुर्घटना न्युनिकरणका लागि ललितपुरमा गृहिणी सचेतना कार्यक्रम



ललितपुर । विद्युतजन्य आगलागी तथा दुर्घटना न्युनिकरणका लागि ललितपुर महानगरपालिकाले गृहिणी महिलाहरुलाई सचेतना तालिम दिइरहेको छ । ललितपुर महानगरपालिकाको विपद व्यवस्थापन शाखाले ललितपुरका २९ वटै वटाका गृहिणी महिलाहरुलाई घरेलु आगलागी जोखिम नियन्त्रणका उपायहरुको बारेमा सचेतना तालिम सञ्चालन गरेको हो ।

विपद व्यवस्थापन शाखाको आयोजना, जुद्ध बारुण यन्त्रको प्राविधिक सहयोग र वडा कार्यालयहरुको समन्वयात्मक सहयोगमा आइतवार वडा नं.२३ कार्यालय धापाखेल र सोमबार वडा नंं. २४ नागदहमा विद्युतजन्य आगलागी तथा दुर्घटना न्युनिकरणका लागि सचेतना तालिम दिएको हो ।

सचेतना तालिममा अमृत साइन्स क्याम्पसका प्राध्यापक डा.श्रीराम शर्माले एलपी ग्याँसको आगलागी नियन्त्रण विधि, फायर एक्सटिङगिसरको प्रयोग विधि, फायर व्लाङ्केटको प्रयोग विधि र विद्युतीय गड्वडीबाट हुने आगलागीका बारेमा सहजीकरण गरेका थिए ।

त्यस्तै जुद्ध बारुण यन्त्रका अग्नी नियन्त्रक गणेश पौडेलले आगलागी हुन नदिन के गर्ने र कस्ता सावधानी अपनाउने, आगलागी भएपश्चात् के गर्ने र कसरी सुरक्षित रहने भन्ने विषयमा सहजीकरण गरे ।

साउथ एसियन लाइटिङ नेटवर्कका इलेक्ट्रिक सेफ्टी इन्जिनियर श्रीयोग शर्माले विद्युतीय गडबडी हुन नदिन र आगलागी हुने अवस्था सृजना नहोस भन्नका लागि कस्ता विद्युतीय सामाग्रीहरु प्रयोग गर्ने भन्ने बिषयमा सचेतना सहजीकरण गरेका थिए ।

ललितपुर महानगरको विपद व्यवस्थापन शाखाले गत वर्ष १० वटा वडाहरु ६, ७, ८, ९, १२, २२, २६, २७, २८ र २९ मा यस्ता कार्यक्रम गरेको र यस वर्ष बाँकी १९ वटा वडाहरुमा सञ्चालन गर्ने लक्ष्य रहेको इन्जिनियर हरिशचन्द्र लामिछानेले जानकारी दिए ।

यसै कार्यक्रम अन्तर्गत मंगलबार वडा २१ खोकनामा गृहिणी सचेतना कार्यक्रम हुने अग्नी नियन्त्रक गणेश पौडेलले जानकारी दिए । विपद व्यवस्थापन शाखाका इन्जिनियर हरिशचन्द्र लामिछानेका अनुसार महानगरले नगरभित्र विद्युतीय काममा खटिइने इलेक्ट्रिसियनलाई समेत सचेतना तालिम दिने तयारी महानगरले गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार