काठमाडौं । १५ मंसिरमा भारतीय आयल कर्पोरेसन (आईओसी) को नयाँ मूल्यअनुसार नेपाल आयल निगमले एक लिटर पेट्रोल जम्मा ८९ रुपैयाँ ७१ पैसामा किन्छ । तर नेपालमा बिक्री मूल्य १८१ रुपैयाँ छ ।
यस्तै प्रतिलिटर ११९ रुपैयाँमा किनेको डिजेल १७८ रुपैयाँमा र ११२ रुपैयाँ ९७ पैसामा किनेको हवाई इन्धन १९० रुपैयाँमा बिक्री गरिरहेको छ । गत वर्ष यसै समयबाट सुरु भएको इन्धनको मूल्यवृद्धि पछिल्लो ५ महिनायता निरन्तरजसो ओरालो लागिरहेको छ । निगमकै तथ्यांकले पनि पछिल्लो दुई महिनायता निगम निरन्तर नाफामा छ ।
३१ असोजदेखि १५ कात्तिकसम्म ३९ करोड, १५ कात्तिकदेखि १ मंसिरसम्म १८ करोड र १ मंसिर यता निगम ५८ करोड ७१ लाख रुपैयाँ नाफामा छ । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई एक महिनामा एक अर्ब १६ करोड रुपैयाँ नाफामा छ ।
पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि यो महिना झनै धेरै नाफा कमाउने छ । तर, सञ्चित नोक्सानी र बक्यौता ऋण २७ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य समायोजन गरेन ।
निगमका प्रवक्ता विनितमणि उपाध्याय विगतमा निगमले उपभोक्तालाई यो भन्दा पनि ठूलो मूल्य वृद्धिबाट जोगाएका कारण अहिले निगमको वक्यौता तिर्न उपभोक्ताले सघाउनुपर्ने तर्क गर्छन् ।





