फ्रान्स र इङ्ल्यान्ड, को पुग्ला विश्व कपको सेमिफाइनलमा ?



विश्वकप फुटबलको क्वाटरफाइनलमा आज राति साविक विजेता फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई देशबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे अलबायत मैदानमा सुरु हुनेछ ।

यो कतार विश्वकप फुटबलको क्वाटरफाइनल अन्तर्गत अन्तिम खेल हो । फ्रान्सले अन्तिम–१६ मा पोल्यान्डलाई ३–१ गोलले र इङ्ल्यान्डले सेनेगललाई ३–० गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो । फ्रान्सले चार वर्षअघि सन् २०१८ मा र सन् १९९८ मा विश्व कपको उपाधि जितेको थियो ।

हेड टु हेड
फ्रान्स र इङ्ल्यान्डबीच अहिलेसम्म ३१ खेल भएका छन् । जसमा इङ्ल्यान्डले १७ र फ्रान्सले ९ वटा खेल जितेको छ । पाँच वटा खेल बराबरी भएका छन् । यी खेलमा समग्रमा इङ्ल्यान्डले ६९ गोल गरेको छ भने फ्रान्सले ३९ गोल गरेको छ ।

विश्वकपमा यी दुई देश यसअघि दुई पटक मात्र खेलेका छन् । दुई खेलमा नै इङ्ल्यान्ड विजयी भएको छ । सन् १९६६ मा इङ्ल्यान्डले फ्रान्सलाई २–० र सन् १९८२ मा ३–१ गोलले हराएको थियो । त्यसयता ठूलो प्रतियोगितामा यो पहिलो भेट हो ।

फ्रान्सका मुख्य खेलाडी २३ वर्षका केलियन एमबाप्पेले कतार विश्वकपमा ४ खेलमा ५ गोल गरिसकेका छन् । इङ्ल्यान्ड यो प्रतियोगितामा सर्वाधिक १२ गोल गर्ने टोली हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार