साउदीलाई हराए पनि मेक्सिको विश्वकपबाट बाहिरियो



काठमाडौं । मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरे पनि दोहामा नाटकीय समीकरण बन्दा गोलअन्तरका आधारमा पछि रहँदै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

समूह सी को खेलमा अर्जेन्टिनाले स्टेडियन ९७४ मा पोल्याण्डलाई २-० ले हरायोे । लुसेल रंगशालामा मेक्सिको पनि २-० गोलले नै अगाडि थियो । त्यति बेलासम्म समान अंक र गोलअन्तर भए पनि फिफा फेयर प्लेको नियमका आधारमा पछाडि नै थियो । त्यसैले मेक्सिलोलाई थप एक गोलको आवश्यकता थियो ।

तर, साउदीका लागि सलिम अल दावसारीले सोही समयमा एक गोल फर्काए र स्तब्ध मेक्सिको पक्षलाई घर पठाइदिए । यो नतिजाले पोल्याण्डलाई खुसी दियो ।

बिभिन्न उतारचडावका बीच मेक्सिको पहिलो हाफमा केहि लयमा देखिएको थियो । दोस्रो हाफको दुई मिनेटमा सेसार मोन्टेसको फ्लिकमा हेनरी मार्टिनले गोल गरेपछि मेक्सिको खेलमा हाबी हुन थालेको हो ।

पहिलो गोलमो खुसी मनाउन नभ्याउँदै मेक्सिकन समर्थकले अर्को गोल पाए । ५२औं मिनेटमा लुइस चाभेजले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक शानदार गोलमा परिणत भएको थियो ।

मेक्सिको फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएको सन् १९७८ को विश्वकपयता पहिलोपल्ट हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार