विश्वकप फुटबल : दक्षिण कोरियालाई घानाले ३-२ ले हरायाे



घानाले कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई पराजित गरेको छ । सोमबार (आज) राति भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले पराजित गरेको हो ।

घानाको जितमा मोहम्मद कुडुसले दुई गोल गर्दा मोहम्मद सालिसुले एक गोल गरे । यता, दक्षिण कोरियाका लागि चो गुइ सुङले दुई गोल गरे ।

समूह ‘एच’ मा रहेको घानाले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पहिलो जित निकालेको हो । खेलको २४औँ मिनेटमा घानाले गोल गर्दै अग्रता बनायो । घानाका लागि मोहम्मद सालिसुले गोल गर्दै घानालाई १–० को अग्रता दिलाए ।

खेलको ३४औँ मिनेटमा मोहम्मद कुडुसले गोल गर्दै घानालाई पहिलो हाफसम्म २–० को अग्रता दिलाए । दोस्रो हाफमा दुई गोल गर्दै खेलमा फर्किने दक्षिण कोरियाले संकेत देखाएको थियो । खेलको ५८औँ र ६१औँ मिनेटमा सुङले गोल गरेपछि दक्षिण कोरियाले घानाविरुद्ध २–२ गोलको बराबरी बनाएको थियो । तर खेलको ६८औँ मिनेटमा कुडुसले गोल गरेपछि घानाले दक्षिण कोरियाविरुद्ध ३–२ गोलको जित निकालेको हो ।

यो जितसँगै पहिलो खेलमा पोर्चुगलसँग ३–२ गोलले पराजित भएको घानाले तीन अंक बनाएको छ । घानाले आफू विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावनालाई पनि कायमै राखेको छ । यता, दक्षिण कोरियाको भने दुई खेलबाट एक अंक छ । दक्षिण कोरियिाले आफ्नो पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार