थापाथलीको सुकम्वासी वस्ती हटाउन खोज्दा झडप, महानगर प्रहरी प्रमुखसहित १४ जना घाईते



थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा झडप भएको छ। झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि अवरोधको अवस्था सिर्जना भएको हो । महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार