२ हजार भन्दा बढि विद्यार्थी भएका विद्यालयलाइ स्कुल बसको व्यवस्था गरिने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयमा बसको व्यवस्था, दरबन्दी मिलानलगायतका समस्यामा मन्त्रालयले विशेष ध्यान दिने बताएका छन् ।

उनले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताए । आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भएको बताए ।

‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौं,’ मन्त्री पौडेलले भने, ‘१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौं ।’

विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुधार र शिक्षण सिकाई प्रक्रियाको सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै विद्यालय सुधार गर्न साझा संकल्प गर्नुपर्ने बताए ।

उनले उच्च शिक्षालाई जोड्न विद्यालय शिक्षासँग प्राविधिक शिक्षा जोड्ने प्रक्रिया गत वर्षदेखि सुरुवात भएको बताउँदै यस वर्ष थप एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने बताए ।

‘१ सय ४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेका छ,’ मन्त्री पौडेलले भने, ‘यस वर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोड्छौं ।’

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार