ललितपुर । ललितपुरस्थित नापी कार्यालय र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहत प्रहरी इकाइहरूले सञ्चालन गरेको विशेष अभियानका क्रममा ललितपुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा अवरोध सिर्जना गर्दै अवैध रूपमा सेवा सहजीकरण गरिदिने नाममा सक्रिय रहेका बिचौलियामाथि निगरानी बढाइएपछि उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये २१ जना नापी कार्यालय क्षेत्रबाट र ११ जना यातायात व्यवस्था कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएको छ । प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।





