काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका उम्मेदवार शेखर कोइरालाले कांग्रेस नेतृत्व फेरिँदैमा पाँच दलीय गठबन्धन नभत्किने बताएका छन्। कोइरालाले जारी १४ औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन गराएरै छाड्ने पनि दाबी गरेका छन्।
बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको नेतृत्व फेरिँदैमा सत्ता गठबन्धन नभत्किने पनि दाबी गरेका हुन्। देउवाले आफूले नजिते आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने डर रहेको आइतवारै अभिव्यक्ति दिएका थिए।
त्यसको जवाफमा कोइरालाले भने, ‘गठबन्धन सरकार जान्छ भन्ने कुरा गर्नुभयो। हामी एउटै समूहमा हौं। पार्टी हो, नेतृत्वका लागि हाम्रो स्वस्थ प्रतिस्पर्धा हुँदैछ। उहाँले जुन कुरा बोल्नुभयो अत्यन्तै गैर जिम्मेवार कुरा बोल्नुभयो। नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ। तर गठबन्धन सरकार कायम रहन्छ र त्यसलाई अझै दरिलो बनाएर लैजान्छौं। हामी उहाँहरु जस्तो गैर जिम्मेवार भएर काम गर्न चाहँदैनौँ।’
कोइरालाले महाधिवेशनका क्रममा बसुन्धरास्थित आफ्नो निवासमा देउवाले गुप्तचर पठाएर निगरानी गर्न लगाएको पनि खुलासा गरेका छन्। कार्यकर्तालाई सम्बोधनपछि पत्रकारहरुले उनलाई घरमा निगरानी गर्न गुप्तचर पठाएको बारे प्रश्न गरेका थिए।
ुतपाईंको घरमा देउवाले गुप्तचर पठाएको होरुु, पत्रकारले यति सोधिसकेपछि उनले जवाफमा भने,‘म यति भन्न चाहान्छु कि तपाईँको प्रश्न सही छ। त्यो कुरा सत्य हो, म अहिले यति नै भन्छु।’ देउवाले आफूले सभापतिमा हारे गठबन्धन टुट्ने पनि आइतवारै बताएका थिए। त्यही प्रसङ्गमा कोइरालाले नेतृत्व परिवर्तन गरेर सरकारलाई थप मजबुत बनाउने बताएका हुन्।
हाम्रा प्रधानमन्त्रीले भोट माग्दा काङ्ग्रेसका कार्यकर्ताको मन दुखाउनुभयो। मेरो नेतृत्वमा म हारे भने यो गठबन्धन सरकार ढल्छ भन्नुभयो, उनले भने म तपाईँहरूको अगाडि भन्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ। नेतृत्व परिवर्तनपछि हामी यो सरकारलाई थप मजबुत बनाउँछौ।





