च्याम्पियन्स लिग : चेल्सीले युभेन्ट्सलाई ४–० गोलले हरायो



काठमाडौं । यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० गोलले हराएको छ । चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गरे । गएराति भएको खेलमा घरेलु टोली चेल्सीले खेलको २५ औँ मिनेटमा चालोवाहको गोलबाट अग्रता बनाएको थियो । त्यस्तै ५५ औँ मिनेटमा रिस जेम्सले गोल थपेर अग्रता दोब्बर पारे ।

खेलको ५८ औँ मिनेटमा ओडोइले एक गोल थपे । त्यस्तै खेलको इन्जुरी समयमा वेर्नरले गोल गरेपछि चेल्सीले ४–० को फराकिलो जित निकालेको हो । चेल्सी समूह ‘एच’ मा शीर्षस्थानमा उक्लिएको छ । समान पाँच खेलमा दुवै टोलीको समान १२ अङ्क भए पनि गोल अन्तरका आधारमा युभेन्ट्स दोस्रो स्थानमा छ ।

दुवै टोली यो समूहबाट नकआउट चरणमा पुगेका छन् । यही समूहको अर्को खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जेनिथको ४ र माल्मोको एक अङ्क छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार