कतार प्रहरीमा नेपाली युवालाई रोजगारः अवैध चलखेल सुरू, सरकार मौन



काठमाडौं । आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ ।

कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि म्यानपावर व्यवसायीले करिब ३ सय युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी शुल्क असुलेर त्यता पठाइसकेका छन् ।

सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन् । काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले अहिले कतार प्रहरीमा काम गर्न जान चाहनेसँग अन्तर्वार्ता लिइरहेको जानकारी प्राप्त भएको छ ।

सो म्यानपावर कम्पनीले एजेन्टमार्फत पैसा उठाएर गोप्यरूपमा अन्तर्वार्ता लिइरहेको र कम्पनीले प्रतिव्यक्ति १० देखि १२ लाख रुपियाँ उठाइरहेको एक पीडित युवाले नेपाल समाचारपत्रलाई बताएका छन् । तर, नेपाल सरकारले भने चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वास्ता गरेको छैन । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार