डेढ वर्षपछि बङ्गलादेशमा जननिर्वाचित सरकार, तारिक रहमानले लिए प्रधानमन्त्रीको शपथ

फेब्रुअरी १२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जित्दै दुई तिहाइ बहुमत हासिल गरेको थियो ।


काठमाडौं । दक्षिण एसियाली राष्ट्र बङ्गलादेशले डेढ वर्षको राजनीतिक संक्रमणपछि पुनः जननिर्वाचित सरकार पाएको छ। हालै सम्पन्न आम निर्वाचनमा विजयी गठबन्धनका नेता तथा बङ्गलादेश नेसनल पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान ले मंगलबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।

रहमान पूर्व प्रधानमन्त्री वेगम खालिदा जिया का छोरा हुन्। उनको शपथग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस तथा राष्ट्रपति मोहम्मद शहाबुद्दीन को उपस्थिति रहेको थियो। विभिन्न मित्र राष्ट्रका प्रतिनिधिहरू सहभागी भएको उक्त समारोहमा नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा पनि सरिक भएका थिए।

बीबीसी बाङ्लाका अनुसार बङ्गलादेशको इतिहासमै पहिलो पटक मन्त्रिपरिषद्को शपथग्रहण कार्यक्रम खुला आकाशमुनि आयोजना गरिएको हो, जसले नयाँ राजनीतिक अध्यायको प्रतीकात्मक सुरुवात गरेको विश्लेषण गरिएको छ।

गत फेब्रुअरी १२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जित्दै दुई तिहाइ बहुमत हासिल गरेको थियो। प्रतिस्पर्धी जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिटमा सीमित रहनुपरेको थियो।

यससँगै १६ महिनादेखि शासन सम्हालिरहेको युनुस नेतृत्वको अन्तरिम सरकारले औपचारिक रूपमा सत्ता हस्तान्तरण गरेको छ। प्रमुख सल्लाहकार युनुसले सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै पदत्यागको घोषणा गरेका थिए।

यसअघि सन् २०२४ जुलाईबाट सुरु भएको विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो। ५ अगस्ट २०२४ मा हसिनाले देश छाडेर भारतमा निर्वासन रोजेकी थिइन्। त्यसयता बङ्गलादेशमा अन्तरिम सरकार सञ्चालन हुँदै आएको थियो।

नवनिर्वाचित सरकारसमक्ष अब राजनीतिक स्थायित्व कायम गर्ने, आर्थिक सुधारलाई गति दिने तथा क्षेत्रीय सम्बन्ध सुदृढ बनाउने चुनौती र अपेक्षा दुवै रहेका छन्। दक्षिण एसियाली राजनीतिक परिदृश्यमा बङ्गलादेशको यो परिवर्तनलाई अर्थपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार