विष्णु माझी खाेज्दै माइत पुग्यो प्रहरी, लागेन माझीको पत्तो !



स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लोकदोहोरी गायिका विष्णु माझीको माइतीघर चापाकोट पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीको अवस्था बुझ्न आग्रह गरेको थियो ।

आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् ।

आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी बोगटीले जानकारी दिनुभयो । तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलैमा’गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीले शब्द रहेको छ ।

यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङ्जा प्रहरीले उनीहरूलाई बोलाएको थियो। २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार