राजेन्द्र पाण्डे भन्छन्- हाम्रो पार्टीमा नआए अष्टलक्ष्मी नेतृत्वको सरकार ढल्छ



काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको सरकारलाई आफूहरूको समर्थन नरहेको बताएका छन् । एमाले विभाजित भएकै दिन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागतमी प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । तर, पाण्डेले मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारलाई आफूहरूको समर्थन नरहेको बताएका हुन् ।

बाागमती प्रदेशका सांसद समेत रहेका पाण्डेले भने, ‘पर्सिसम्म हाम्रो पार्टीमा नआए मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार ढल्छ ।’ एकीकृत समाजवादी पार्टीलाई सनाखतका लागि निर्वाचन आयोगले ९ भदौमा बोलाएको छ । पाण्डेले निर्वाचन आयोगमा पार्टीको सनाखत हुने दिन को कता लाग्ने भन्ने तय हुने भएकाले बागमतीकी मुख्यमन्त्री शाक्यको पदको टुंगो पनि त्यही दिन लाग्ने बताए ।

पाण्डेले नेतृ शाक्य माधवकुमार नेपालकै सल्लाहमा मुख्यमन्त्री बनेको भन्ने कुरा गलत भएको बताए । ‘अष्टलक्ष्मीजी बाहिर चर्चा चलेजस्तो माधव नेपालसँग सल्लाह गरेर मुख्यमन्त्री बन्न जानुभएको होइन । मुख्यमन्त्री त आफैँ हाम्रो भागमा आइरहेको थियो । हतारिएर जानुपर्ने के थियो रु,’उनले प्रश्न गरे ।

नेता पाण्डेले केपी ओली कम्युनिस्ट नै होइनन् भन्ने अष्टलक्ष्मी कसरी मुख्यमन्त्री बन्न जानुभयो भन्ने आश्चर्यको विषय भएको बताए । ‘केपी कम्युनिस्ट नै होइनन् । उनलाई कमरेड भन्न पनि मन लाग्दैन भन्ने उहाँ ओलीले नै बनाएको मुख्यमन्त्री बन्दा हामीलाई आश्चर्य लागेको छ,’ उनले भने ।

पाण्डले हिजो ओलीलाई प्रतिगामी र निरकुंश देख्नेहरू आजै उनैसँग सती जान तयार भएको पनि बताए । ‘सुरेन्द्र पाण्डे, भीम रावल, योगेश भट्टराईहरूले आफ्ना आर्काइभ अन्तरवार्ता र भिडियोहरू हेरुन,’ उनले भने ।

एमालेमा केपी ओलीसामु सबै नेताले आत्मसर्मपण गरिसकेकाले त्यहाँ विधि, पद्धति र लोकतन्त्रको कुनै गुन्जायस नहुने पनि उनले बताए । एकीकृत समाजवादी पार्टी नयाँ भए पनि यसले देशका एजेण्डा बोक्ने र सबै कम्युनिस्ट पार्टीसँगको एकताको पहल गर्ने पाण्डेले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार