काठमाडौं । नयाँ पार्टी दर्ता प्रक्रिया सकिनासाथ प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । एमालेबाट विभाजित माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ । स्रोतका अनुसार माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने तय भएको स्रोतले जनाएको छ ।
दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउँदैछ । नेकपा समाजवादीबाट सरकारको नेतृत्व गर्न वामदेव गौतमले इच्छा व्यक्त गरेका छन् । तर सो पार्टीभित्रै गौतमलाई कुनै हालतमा दिन नहुने र उनकै कारण नेकपा हुँदै एमालेसम्म विभाजन भएको मत बलियो छ । माधव नेपालनिकट एक नेताले भने– तत्कालीन नेकपामा वामदेवले ओली वा प्रचण्डमध्ये एकजनाको पक्षमा उभिएका भए सचिवालयमा बहुमत हुन्थ्यो र पार्टी नफुट्न सक्थ्यो । उनको चरित्र अहिले पनि त्यस्तै हो र उनीसँग कोही मान्छे पनि छैनन् । हामीले जोखिम मोलेर स्थापित गरेको सरकारमा भाग खोज्न लाज हुनुपर्ने हो ।
माधव नेपालको पार्टीबाट सरकारमा जान पाउने सम्भावना नदेखिएपछि गौतम एमालेमै रहेको विज्ञप्ति आएको छ । गौतमबाहेक साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुने भने भुसाल राष्ट्रियसभा सदस्य । भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।
नेपालनिकट स्रोतका अनुसार उनी बेदुराम भुसाललाई अवसर दिन चाहान्छन् । त्यस्तै बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित छ । जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ । नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा.खिमलाल देवकोटाको नाम पनि चर्चामा छ ।
माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ । नेपालको पार्टीले उपसभामुख पनि पाउने सम्भावना छ । यद्यपि उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिको बारेमा टुंगो लाग्न बाँकी छ । उपसभामुख एकीकृत समाजवादीले पाएमा सरला यादवलाई बनाउने सम्भावना छ ।
एमालेले निर्वाचन आयोगमा पठाएको २६० सदस्यीय कमिटीले मान्यता पाएन( काठमाडौं । एमालेका बरिष्ठ नेता रहेका माधव कुमार नेपाललाई पार्टी विभाजन गर्न सजिलो हुनेगरी सरकारले अध्यादेश ल्याएको थाहा पाएलगत्तै एमालेले केन्द्रीय समिति सदस्य थप गरी निर्वाचन आयोगमा पठाएको विवरणले मान्यता नपाउने भएको छ । भदौ शुरूमा एमालेले २०३ सदस्यबाट बढाएर २६० पुर्याएर केन्द्रीय समिति विवरण अद्यावधिक गर्न पत्राचार गरेको थियो ।
निर्वाचन आयोगका अनुसार कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेको छ । नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।
निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पुर्याउँदा हुने भएको छ । एमाले अध्यक्ष ओलीले अद्यावधिक गरेको २६० सदस्यीय केन्द्रीय कमिटीलाई आयोगले आधार नमान्ने भएको छ ।
गत मंगलबार भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण दिएको थियो । सनाखतका क्रममा २० प्रतिशतको मापनका लागि २०३ सदस्यीय केन्द्रीय कमिटीलाई नै आधार मानिने आयोगले जनाएको छ ।
माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ५८ सहित अरू केन्द्रीय सदस्य समेत थपेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले ओली पक्षले थपेका केन्द्रीय सदस्यलाई मान्यता नदिने भएसँगै नेता नेपालले आयोगमा बुझाएका ५८ मध्ये ४१ केन्द्रीय सदस्य भए पनि पुग्ने देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका १४ जनाले मान्यता नपाएको खण्डमा पनि नेता नेपाललाई आवश्यक सङ्ख्या पुग्ने देखिन्छ ।
संशोधित कानुन अनुसार २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद सङ्ख्या भनिएकाले नेता नेपाललाई पार्टी गठन गर्न सांसदको आधारमा प्रतिनिधि सभाका १२१ र राष्ट्रिय सभाका ३३ गरी भने १५४ जना सांसदको २० प्रतिशत हुँदा ३१ जना सांसद आवश्यक पर्ने देखिन्छ । यस्तै निर्वाचन आयोगले सभामुख अग्नि सापकोटालाई पत्र पठाउँदै सांसदहरुको सनाखत गर्न आग्रह गरेको छ ।
याे पनि………..
सभामुखलाई निर्वाचन आयोगको पत्र– सांसदहरुको हेड काउन्ट गर्न आग्रह
काठमाडौं । निर्वाचन आयोगले सभामुख अग्नि सापकोटालाई पत्राचार गर्दै सांसदहरुको हेड काउण्ट गर्न आग्रह गरेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएको अवस्थामा कुन दलमा को सांसद रहेका छन् भनि स्पष्ट गर्न सभामुखलाई आयोगले आग्रह गरेको हो । माधव नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका छन् भने जसपाबाट महन्त ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छ्न ।
माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ माग्ने निर्णय गरेको हो । ‘आयोगले निर्णय गरेर सभामुखलाई पत्र पठाइसकेको छ, निर्वाचन आयोगका अधिकारीले भने, ‘सभामुखको जवाफ पर्खिरहेका छौं । बुधबार सनाखतका लागि बोलाइएका त्यसअघि नै संसद सचिवालयबाट पत्रको जवाफ आउने आयोगको अपेक्षा छ ।’
निर्वाचन आयोग स्रोतका अनुसार माधव नेपाललाई संघीय सांसदहरुको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ । सरकारले यसअघि ४० प्रतिशतको प्रावधान हटाएर २० प्रतिशतमा दल फुटाउन मिल्ने अध्यादेश ल्याएको थियो ।





