नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट,



२०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिएका छन् ।

भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि वैकल्पिक विधिको प्रबन्ध गरेर नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने निर्देशन मन्त्री श्रेष्ठले दिएका हुन् । सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ । एसईई प्रक्रियामै रहेकोले अहिलेको अवस्था कक्षा १० मै नयाँ र पुराना गरी दुई समूह छन् । मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको आन्तरिक मूल्याङ्कन लगायतको विषयमा स्पष्ट पार्न कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधि जेठ महिनाभित्र जारी गरिने जनाएको छ । यसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुर्याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा पत्र लेखेर पठाउने निर्णय गरिएको छ ।

असारदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय, शिक्षक महासङ्घ पर सार्ने पक्षमा
हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिकसत्रलाई यस वर्ष कोभिड¬–१९ का कारण प्रभावित दुई महिना थप गरेर व्यवस्थापन गर्न लागिएको हो । विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था भएकामा कोरोना महामारीपछि विद्यालय पूर्ववत् सञ्चालन हुन नसक्दा सञ्चार तथा सूचना प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण भएका बेला पाठ्यक्रम समायोजन गरी सिकाइ निरन्तरता गरिएको छ । कोरनोको जोखिम घट्दै गएको र लामो सयम वैकल्पिक माध्यममा शिक्षा दिँदा सिकाइ गुणस्तरमा नकारात्मक असर पर्न सक्ने भएकाले पछिल्लो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विद्यालय सञ्चालनको क्रम शुरु भएको छ । जाडो विदा समेत नदिइ कक्षा सञ्चालन भएकाले शैक्षिकसत्र व्यवस्थापनमा यसले सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

कोरोना महामारीका कारण एक स्थानका विद्यालयमा भर्ना भएका विद्यार्थी अन्यत्र बसेर अध्ययन गरिरहेको स्थितिमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा स्थानान्तरण गर्न पनि नियमावली बाधक भएकाले बाधा अड्काउ फुकाइने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । यसअघि २०७२ मा गएको विनासकारी भूकम्पका समयमा अति प्रभावित १४ जिल्लाका कक्षा १० का विद्यार्थीलाई स्थानान्तरण गराई परीक्षा दिलाइएको थियो ।

सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रमा गणना गराउने गरी गत भदौ १९ गते ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको थियो । कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृति विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी निर्देशिका जारी भएको हो ।

यो निर्देशिकासँगै चालु शैक्षिकसत्रमा विद्यार्थी अभिलेखीकरण (भर्ना), तथ्याङ्क सङ्कलन, निजी विद्यालयमा स्थानीय तहले तोकेबमोजिमको शुल्क लिन, पाठ्यभार संकुचन गरी मूल्याङ्कनको विधि लागू गर्न स्थानीय तह र सम्बन्धित विद्यालयलाई सहज हुनेछ । सो अघि शिक्षा ऐन, नवौ संशोधन (२०२८) को दफा १९ ‘क’ को अधिकार प्रयोग गरी गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी भई गत असार १ गतेदेखि वैकल्पिक प्रणालीको सिकाइ अनिवार्य कार्यान्वयन गरिएको थियो ।

यसैबीच, शिक्षा मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन आज निर्देशन दिँदै मन्त्री श्रेष्ठले परिणाम देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई आज निर्देशन दिनुभएको थियो । बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयनका लागि कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने स्पष्ट गर्दै उहाँले आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयका विषयमा कुनै कसर बाँकी नराख्न भन्नुभयो । कार्यान्वयनमा हुनेगरी काम अघि बढाउन निर्देशन दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुनःनिर्माण गर्ने सरकारको योजना छ । यस्तै विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा रु २५ लाखसम्म ऋण दिने, कक्षा ९ सम्म रङ्गीन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका कार्यक्रम बजेटमा समावेश छन् ।-रासस

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार