सांसद राणाको ठोकुवा – आज देशमा दुईटा महामारी छ, एक कोभिड अर्काे केपी ओली



रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले आजको प्रदेशसभाको बैठकमा अल्पमतमा परेको सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिन वा मार्गप्रशस्त गर्न माग गर्नुभयो ।

संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएपनि सरकार सोही धाराको २ जस्तो देखिएको बताउँदै भन्नुभयो, “राष्ट्रियसभाको नतिजाले पनि प्रदेश सरकार अल्पमतमा रहेको पुष्टि भएको छ । आज ३० दिन पुगेको छ । कि उहाँले विस्वासको मत लिनुपर्छ । नभए उहाँले अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,” । उहाँले अब जालझेल गरेर कहिलेसम्म बस्ने ? भन्दै प्रश्न पनि गर्नुभयो । प्रदेशसभा छलेर बजेट ल्याउने सुनिएको भन्दै त्यस्तो नगर्न चेतावनी समेत दिनुभयो ।

केपी ओलीलाई प्रधानमन्त्री जस्तै शंकर पोखरेललाई मुख्यमन्त्री मात्रै चाहिने ?
प्रदेशसभा बैठकबा बोल्दै सांसद विर बहादुर राणाले मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदमा मात्र ध्यान दिएर जनताका काम गर्न छोडेको बताउनुभयो । नेता राणाले बोल्दै बहुमत गुमाएको सरकारले पदमा मात्रै बस्नको निम्ती विभिन्न जालसाँझी गरेको बताउनुभयो । केन्द्रमा केपी ओलीलाई प्रधानमन्त्री चाहिने, लुम्बिनीमा शंकर पोखरेललाई मुख्यमन्त्री पदमात्र चाहिने भन्दै उहाँले जालसाँझी नगर्न चेतावनी दिनुभयो ।

उहाँले आज देशमा दुई प्रकारको महामारी लागेको बताउनुभयो । एक कोभिड १९, अर्काे केपी ओलीको असंवैधानिक कामको महामारी लागेको उहाँको भनाई छ । त्यस्तैगरी सांसद शंकर गिरीले मुख्यमन्त्री पोखरेल उपधारा १ को कि दुई को भन्दै प्रश्न गर्नुभयो । एक को मुख्यमन्त्री हो भने बहुमत नभएको भन्दै उहाँले दुई को मुख्यमन्त्री भने उहाँ कहिल्यै नभएको बताउनुभयो । उहाँले सदनलाई झुक्याउन माग गर्दै मुख्मन्त्रीमा गठबन्धनको तर्फबाट कुल प्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न समेत माग गर्नुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार