काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल खाएको थियो । रोमाका माटियास सौलेले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि डोनियल मालेनले पेनाल्टीमार्फत गोल गरेपछि रोमाले २–० को अग्रता बनाएको थियो ।
तर दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ५८औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । रोमाका खेलाडी पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेपछि दोहोर्याइएको पेनाल्टीमा फर्नान्डेसले गोल गरेका थिए । ८३औं मिनेटमा माथियस कुन्हाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि कुन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ३–२ को अग्रता बनायो ।
खेलको इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएपछि कुन्हा मैदानबाट बाहिरिए । तर १० खेलाडीमा सीमित युनाइटेडले बाँकी समय अग्रता जोगाउँदै जित सुनिश्चित गर्यो । जितसँगै युनाइटेडले लगातार नौ खेलदेखिको जितविहीन यात्रा पनि अन्त्य गरेको छ । दुई गोलले पछि परेको अवस्थाले घरेलु टोलीमाथि दबाब बढाएको थियो । समर्थकले क्लबको स्वामित्व र व्यवस्थापनविरुद्ध विरोध प्रदर्शनसमेत गरेका थिए ।
युनाइटेडका लागि अर्को चिन्ताको विषय मिडफिल्डर कार्लोस बालेबाको चोट बन्यो । पहिलो हाफमा ह्यामस्ट्रिङमा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए । गएराति नै भएका अन्य खेलमा बार्सिलोनाले एस्टन भिल्लालाई ३-० ले हरायो भने पीएसजीले भिलारियललाई ६-०, बायर्नले एट्लेटिको मड्रिडलाई २-० तथा इन्टर मिलानले फेयनोर्डलाई ३-० ले हराए ।
















