काठमाडौं । फोटोन मोटर नेपालका १४ वटा फोटोन टीएम१ विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटको सवारी साधन समूहमा औपचारिक रूपमा समावेश भएका छन्।
आज आयोजित हस्तान्तरण तथा समावेश कार्यक्रमसँगै यी सवारी साधन भाटभटेनी सुपरमार्केटको सेवामा जोडिएका हुन्। नेपालकै प्रतिष्ठित तथा उपभोक्तामाझ विश्वास कमाएको व्यावसायिक संस्थाले फोटोनका सवारी साधनप्रति विश्वास व्यक्त गर्नुलाई कम्पनीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
फोटोन मोटर नेपालका अनुसार भाटभटेनी सुपरमार्केटलाई सवारी साधन उपलब्ध गराउनु भनेको गाडी बिक्री गर्नुमा मात्र सीमित नभई ग्राहकलाई गुणस्तरीय उत्पादन, उत्कृष्ट कार्यसम्पादन र भरपर्दो सेवाको सुनिश्चितता प्रदान गर्ने प्रतिबद्धता पनि हो।

कम्पनीले भाटभटेनी सुपरमार्केटलाई उपलब्ध गराइएका सबै सवारी साधनका लागि आवश्यक प्राविधिक सहयोग, भरपर्दो बिक्रीपछिको सेवा तथा पर्याप्त चार्जिङ पूर्वाधारको व्यवस्था र सहयोगमा समेत ध्यान दिने जनाएको छ।
विद्युतीय सवारी साधनको प्रयोग विस्तार हुँदै गएको अवस्थामा व्यावसायिक क्षेत्रमा यस्ता सवारी साधनको प्रयोगले वातावरणमैत्री यातायात प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, आवश्यक चार्जिङ पूर्वाधार र प्रभावकारी सेवा सुविधाले विद्युतीय सवारी साधनको प्रयोगलाई थप सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
भाटभटेनी सुपरमार्केटले फोटोन मोटरप्रति विश्वास व्यक्त गरेकोमा आभार प्रकट गर्दै कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय उत्पादन, विश्वसनीय कार्यसम्पादन र प्रभावकारी सेवामार्फत सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
फोटोन मोटर नेपाल र भाटभटेनी सुपरमार्केटबीचको यो सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारी साधनको प्रयोग विस्तार गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।


















