काठमाडौँ। जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउने क्रममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेल, ललितपुरका कर्मचारी, वडाध्यक्षसहित ११ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
भूमि प्रशासन अधिकृत अर्जुन देव योङया र नवीन कुमार गोले, नायब सुब्बाहरू, ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्का तथा लेखापढी व्यवसायीहरूसहितको मिलेमतोमा सेवाग्राहीसँग रकम असुल गरिएको आयोगको दाबी छ।
नापी कार्यालयबाट पुनः नापीसम्बन्धी प्राप्त जग्गाधनी स्रेस्ताको विवरण अद्यावधिक नगरी लुकाएको, गलत लिखत तयार पारेको र साविककै विवरणका आधारमा काम गराई तीन लाख रुपैयाँ घुस लिई बाँडीचुँडी खाएको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले टंगालस्थित टोलीमार्फत नियन्त्रणमा लिई बिगो बमोजिम कारबाहीको मागदाबीसहित मुद्दा दर्ता गरेको हो।
















