काठमाडौं । चावहिलको चुच्चेपाटीमा प्रधान कार्यालय रहेको शुभप्रवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज २५ गते आइतबार सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा सम्पन्न सभाले संस्थाको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
संस्थाका अध्यक्ष विदुर बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्रकुमार खड्का, सचिव तेजनारायण श्रेष्ठ, सञ्चालक समिति, लेखा समिति, कर्जा उपसमितिका प्रतिनिधि तथा सेयर सदस्यहरूको सहभागिता रहेको थियो।
कुल सम्पत्ति १७.४८ प्रतिशतले वृद्धि
सहकारी क्षेत्रमा विभिन्न चुनौतीहरू देखिए पनि शुभप्रवा सहकारीले आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा प्रमुख वित्तीय सूचकहरूमा वृद्धि हासिल गरेको छ।
प्रमुख कार्यकारी निर्देशक फडिन्द्रकुमार खड्काद्वारा प्रस्तुत वित्तीय समीक्षाअनुसार संस्थाको कुल सम्पत्ति १७.४८ प्रतिशतले वृद्धि भई १ अर्ब १७ करोड ७ लाख २९ हजार ४६४ रुपैयाँ पुगेको छ।
त्यस्तै, संस्थाको सेयर पुँजी ६.०३ प्रतिशतले वृद्धि भई १० करोड ७८ लाख ७२ हजार ८०० रुपैयाँ पुगेको छ। कुल निक्षेप संकलन १८.६४ प्रतिशतले बढेर ८८ करोड ४ लाख ७९ हजार ४८० रुपैयाँ पुगेको छ भने कर्जा लगानी १७.८१ प्रतिशतले वृद्धि भई ७४ करोड ५६ लाख ७३ हजार १६५ रुपैयाँ पुगेको छ।
संस्थाको कुल आम्दानी ७.४९ प्रतिशतले बढेर ९ करोड ८२ लाख ७९ हजार ४०५ रुपैयाँ पुगेको छ। यसैगरी, कोष व्यवस्थापनतर्फ ६.११ प्रतिशतको वृद्धि हासिल गर्दै कोषको रकम ८ करोड ३ लाख २३ हजार ५४९ रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।
डिजिटल वित्तीय सेवाको विस्तारमा जोड
संस्थाले विगत छ वर्षदेखि डिजिटल वित्तीय सेवालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। सदस्यलाई सहज, छरितो र प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न डिजिटल सुविधा सञ्चालनमा ल्याइएको अध्यक्ष विदुर बस्नेत र प्रमुख कार्यकारी निर्देशक खड्काले जानकारी दिएका छन्।
संस्थाको शुभप्रवा स्मार्ट एपमार्फत बिजुली, खानेपानी, टेलिफोन, टेलिभिजन, इन्टरनेट, हवाई तथा बस टिकट, बीमा, मेरो सेयर र डिम्याटसम्बन्धी भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ।
त्यसैगरी, कनेक्ट आईपीएसमार्फत एक करोड रुपैयाँसम्म तत्काल रकम स्थानान्तरण गर्न सकिने व्यवस्था रहेको संस्थाले जनाएको छ। विभिन्न क्यूआर कोडमा आधारित स्क्यान एन्ड पे भुक्तानी प्रणालीसमेत सञ्चालनमा रहेको छ।
डिजिटल कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन संस्थाले क्लाउडमा तथ्याङ्कको सुरक्षित प्रतिलिपि राख्ने व्यवस्था गर्नुका साथै मोबाइल बैंकिङ सेवालाई नियमित रूपमा अद्यावधिक गर्दै आएको जनाएको छ।
सम्पत्ति शुद्धीकरण नियन्त्रण र सामाजिक उत्तरदायित्वमा प्राथमिकता
संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी कानुनी प्रावधानको पालना गर्दै संस्थागत सुशासन र स्वनियमनलाई प्राथमिकता दिएको प्रतिवेदनमा उल्लेख छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले यस वर्ष धुर्मुस–सुन्तली फाउन्डेसन, राष्ट्रिय आविष्कार केन्द्र र काठमाडौं महानगरपालिकालाई आर्थिक सहयोग गरेको जनाएको छ।
त्यस्तै, रसुवा जिल्लाको भोटेकोशी क्षेत्रका बाढीपीडितलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार ५०० रुपैयाँ सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ।
शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई नगदसहित सम्मान गर्ने कार्यक्रमसमेत सुरु गरिएको छ।
साधारणसभाबाट विभिन्न प्रस्ताव पारित
सचिव तेजनारायण श्रेष्ठद्वारा प्रस्तुत कार्यसूचीअनुसार साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। सोही आर्थिक वर्षको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनसमेत स्वीकृत गरिएको छ।
सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ। यसका साथै संस्थाको विनियम तथा आन्तरिक कार्यविधि पारित र संशोधन गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।
त्यसैगरी, सेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरण, सञ्चालक समितिका निर्णयहरूको अनुमोदन र संस्थाको नाममा रहेको गैरवित्तीय सम्पत्ति बिक्रीसम्बन्धी प्रस्तावहरू पनि सभाबाट पारित भएका छन्।
सुरक्षित वित्तीय कारोबार गर्न अध्यक्ष बस्नेतको आग्रह
सभाको समापन गर्दै अध्यक्ष विदुर बस्नेतले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।
उनले सेयर सदस्यहरूलाई वित्तीय कारोबार सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन शुभप्रवा स्मार्ट एप, एटीएम तथा क्यूआर कोडजस्ता डिजिटल माध्यमको प्रयोग गर्न आग्रह गरेका थिए।
वित्तीय सूचकमा वृद्धि, डिजिटल सेवाको विस्तार, संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सदस्यहरूलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्ने लक्ष्यसहित संस्था अघि बढिरहेको जनाएको छ।












