स्मरण सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, कुल वासलात १९ करोड ५० लाख रुपैयाँ नाघ्यो



काठमाडौं । काठमाडौं महानगरपालिका–२९, अनामनगरस्थित स्मरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बानेश्वरस्थित ओम साई पार्टी प्यालेसमा आयोजित सभाले संस्थाको वार्षिक प्रगति, वित्तीय अवस्था तथा आगामी आर्थिक वर्षका कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरू पारित गरेको छ।

संस्थाका अध्यक्ष कुमारप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न सभामा अध्यक्ष, सचिव तथा कोषाध्यक्षका वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो। सभामा संस्थाको आर्थिक अवस्था, सदस्यको हित तथा आगामी कार्ययोजनालगायतका विषयमा छलफल भएको थियो।
वि.सं. २०६५ फागुन १५ गते स्थापना भएको संस्थाले विभिन्न चुनौती पार गर्दै १८ वर्षको यात्रा पूरा गरेको अध्यक्ष घिमिरेको प्रतिवेदनमा उल्लेख छ।

सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म संस्थाको कुल वासलात १९ करोड ५० लाख २६ हजार १०६ रुपैयाँ ७० पैसा पुगेको छ। सोही अवधिमा संस्थाको सेयर पुँजी २ करोड २ लाख ७२ हजार ५०० रुपैयाँ रहेको छ भने निक्षेप संकलन १३ करोड ६१ लाख ९ हजार २०३ रुपैयाँ ५२ पैसा पुगेको छ। त्यस्तै, संस्थाले १४ करोड ६८ लाख २९ हजार ३८ रुपैयाँ २८ पैसा ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।

संस्थामा हाल महिला ४४३, पुरुष ६९५ र संस्थागत चार गरी कुल एक हजार १४२ जना सेयर सदस्य आबद्ध छन्। यसका अतिरिक्त बालबचत कार्यक्रममा १२९ जना बालबालिकाले नियमित बचत गर्दै आएका छन्।
साधारण सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्दै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ।

सभाले संरक्षित पुँजी फिर्ता कोषमा रहेको २ लाख ५३ हजार ५९९ रुपैयाँ र सेयर लाभांश कोषमा रहेको ५ लाख २९ हजार ९ रुपैयाँसहित नियमानुसार लाभांश तथा बोनस वितरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। त्यसैगरी, संस्थाको कार्यक्षेत्र विस्तार, विनियम संशोधन तथा विभिन्न नीतिगत परिमार्जनसम्बन्धी प्रस्तावहरू अनुमोदन गरिएको छ।

कार्यक्रममा संस्थाको विकास र कारोबारमा योगदान पुर्‍याउने उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा ज्येष्ठ सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
सभाको समापनमा अध्यक्ष घिमिरेले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद संस्थाको प्रगति र विकासमा सहयोग पुर्‍याउने सेयर सदस्य, कर्मचारी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गरेका थिए। उनले सदस्यहरूको विश्वास र सहकार्यलाई कायम राख्दै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार