काठमाडौं । एभरेस्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) रहेको छ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यस्तै, २०८३ साल असार ३२ गतेको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत लेखापरीक्षकको प्रतिवेदनसहित अनुमोदन गरेको छ।
बोनस सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ।
यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव अनुमोदन गर्दै लेखापरीक्षकको पारिश्रमिकसमेत निर्धारण गरेको छ।
सभामा १७ जना सेयरधनीले आफ्नो धारणा राखेका थिए। अधिकांश सेयरधनीले आगामी आर्थिक वर्षमा नगद लाभांशको तुलनामा बोनस सेयरको हिस्सा बढाउन सञ्चालक समिति तथा बैंक व्यवस्थापनसमक्ष आग्रह गरेका थिए।












