सिन्धुपाल्चोकका पहिलो दलित अधिवक्ता मुकेश सेन्चुरीले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी



सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका लागि अधिवक्ता मुकेश सेन्चुरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

कानुन व्यवसायसँगै विद्यार्थी राजनीति, संगठन निर्माण, सामाजिक न्याय तथा युवा नेतृत्वका क्षेत्रमा सक्रिय सेन्चुरीले आफूलाई संगठनभित्र नयाँ पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रम राखिएको छ।

सेन्चुरीले आफ्नो उम्मेदवारी अग्रज नेतृत्वको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा क्षमतालाई जोड्दै कांग्रेसलाई थप लोकतान्त्रिक, समावेशी, गतिशील र जनमुखी संगठन बनाउने उद्देश्यका साथ अघि सारेको बताएका छन्।

उनको राजनीतिक यात्रा नेपाल ल क्याम्पस नेविसङ्घ इकाई सभापतिबाट सुरु भई नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै केन्द्रीय खेलकुद विभाग प्रमुखसम्म पुगेको छ। विद्यार्थी आन्दोलन तथा संगठनका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन्।

कानुन संकायबाट बीएलएलबी अध्ययन पूरा गरेका सेन्चुरी हाल एलएल.एम. अध्ययनरत छन्। कानुनी पेशामा समेत सक्रिय रहेका उनी सिन्धुपाल्चोक जिल्लाको दलित समुदायबाट पहिलो अधिवक्ता भएको दाबी गर्दै न्याय, समानता, सामाजिक न्याय र अधिकारका विषयमा आफ्नो पेशागत तथा सामाजिक भूमिका अघि बढाइरहेको बताउँछन्।

सेन्चुरीले दलित तथा सीमान्तकृत समुदायका विद्यार्थी र युवालाई शिक्षा, स्वास्थ्य, प्रविधि तथा खेलकुदमा समान अवसर उपलब्ध गराउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्। विशेषगरी छात्रवृत्तिमा पहुँच विस्तार, उच्च तथा प्राविधिक शिक्षाका अवसर, एआई तथा डिजिटल शिक्षामा पहुँच र खेलकुदमार्फत युवा प्रतिभाको विकासका लागि पहल गर्ने उनको प्रतिबद्धता छ।

क्योकुसिन करातेका राष्ट्रिय खेलाडी तथा प्रशिक्षकसमेत रहेका सेन्चुरीले खेलकुदबाट सिकेको अनुशासन, संघर्ष, धैर्य र नेतृत्वको अनुभवलाई संगठन निर्माणमा प्रयोग गर्ने बताएका छन्।

पेशागत क्षेत्रमा पनि सक्रिय सेन्चुरी नेपाल बार एसोसिएसनअन्तर्गत नवोदित कानून व्यवसायी सरोकार समितिको सदस्य सचिवका रूपमा युवा कानून व्यवसायीका पेशागत हकहित र सरोकारका विषयमा काम गर्दै आएका छन्। साथै Democratic Lawyers Association (DLA), काठमाडौंसँग आबद्ध रही लोकतान्त्रिक मूल्य, विधिको शासन तथा पेशागत अधिकारका विषयमा सक्रिय रहेको उनको भनाइ छ।

सेन्चुरीले कांग्रेसभित्र युवालाई अर्थपूर्ण अवसर, अग्रजको अनुभवलाई सम्मान, योग्य तथा सक्रिय कार्यकर्तालाई प्रोत्साहन र सबै समुदायको समान सहभागितालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनको उम्मेदवारीका मुख्य एजेण्डामा क्षेत्र नं. १ को संगठनलाई एकताबद्ध र सुदृढ बनाउने, युवा तथा नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिने, दलित, महिला, जनजाति तथा सीमान्तकृत समुदायको सहभागिता बढाउने, शिक्षा–स्वास्थ्य–प्रविधि–खेलकुदमा पहुँच विस्तार गर्ने तथा जनताका स्थानीय समस्या र आवश्यकतालाई राजनीतिक एजेण्डाको केन्द्रमा राख्ने विषय रहेका छन्।

“राजनीति केवल पद र शक्तिको अभ्यास होइन; यो जनताको सेवा, समस्या सुन्ने संस्कार र जिम्मेवारी वहन गर्ने माध्यम हो,” सेन्चुरीले भनेका छन्।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा संगठनभित्र नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार नेतृत्वको आवश्यकतालाई सम्बोधन गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

“अग्रजहरूको आशीर्वाद, सहकर्मीहरूको साथ र नयाँ पुस्ताको ऊर्जालाई एकताबद्ध गर्न सके नेपाली कांग्रेस क्षेत्र नं. १ लाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउन सकिन्छ,” सेन्चुरीले बताएका छन्।

महाधिवेशन प्रतिनिधिका उम्मेदवार सेन्चुरीले क्षेत्रीय प्रतिनिधि, वडा तथा गाउँ/नगर नेतृत्व र अग्रज नेताहरूसँग आफ्नो उम्मेदवारीका लागि साथ, समर्थन, सुझाव र मतको आग्रह गरेका छन्।

उनको उम्मेदवारीको मूल सन्देश छ— अग्रजको अनुभवलाई सम्मान गर्दै युवाको ऊर्जालाई अवसर, संगठनलाई मजबुती र सीमान्तकृत समुदायलाई समान प्रतिनिधित्व।

अधिवक्ता मुकेश सेन्चुरी
उम्मेदवार, केन्द्रीय महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेस, क्षेत्र नं. १, सिन्धुपाल्चोक

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार