नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले अहिलेको सरकार विरूद्ध जनताहरू सडकमा आउने बताएका छन्। नेकपाको गण्डकी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै पुनले सरकारको स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवारीविरूद्ध दसैँ, तिहार र छठपछि जनताले ठूलो विद्रोह गर्ने उनको भनाइ छ।
विद्रोहमा ओर्लिएका जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि तयारी गर्न नेता पुनले पार्टी पंक्तिलाई आग्रह पनि गरे। उनले जनताले विद्रोह गर्नुको कारण पनि सुनाए।
‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरुको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे? जनताको चुल्होमा ग्यास छैन, के गरे ? किसानलाई मल छैन, के गरे? महँगीले आकास छोएको छ, के गरे?’, पुनले भने, ‘यो स्वेच्छाचारी, निरंशुक र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ, दशैं, तिहार र छठपछि जनता स्वतः स्फुर्त रुपमा विद्रोहका लागि सडकमा आउँछन्, हामीले त्यसको व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ।’
सरकारको गलत रबैका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता समेत कमजोर भएकाले यसको रक्षाका लागि जनताले विद्रो गर्ने समय आएको उनको दाबी छ।






