काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको छ। २०८३ साल भदौ २४ गते बुधबार बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा काठमाडौंमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा सभा सम्पन्न भएको हो।
सभामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको प्रमुख आतिथ्य रहेको थियो। सम्बोधनका क्रममा कोइरालाले माछापुच्छ्रे क्यापिटलको निरन्तर प्रगति र सफलताको शुभकामना दिँदै आगामी दिनमा कम्पनीले अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य राख्दै आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेका प्रमुख उपलब्धि, व्यवसाय सञ्चालनका क्रममा देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। कम्पनीको वित्तीय अवस्था, लगानी विस्तार तथा आगामी व्यावसायिक रणनीतिबारे समेत सभामा छलफल भएको थियो।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ७ करोड २१ लाख ५० हजार ४८५ रुपैयाँ आम्दानी गरेको छ। उक्त अवधिमा कम्पनीले ३ करोड ५९ लाख २९ हजार ८०२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद मुनाफा १२१ प्रतिशतले वृद्धि भएको हो।
साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरेको छ। यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
सभाले कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। करसहित २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कम्पनीको सेयर पुँजी २८ करोड ६३ लाख ३९ हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको लगानी २८ करोड ४२ लाख ६८ हजार ४१८ रुपैयाँ रहेको विवरण सभामा प्रस्तुत गरिएको थियो। खुद मुनाफामा भएको उल्लेख्य वृद्धिसँगै कम्पनीले आगामी दिनमा व्यवसाय विस्तार, लगानीका नयाँ अवसरको खोजी तथा सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने जनाएको छ।
सभाको समापन गर्दै अध्यक्ष विश्वम्भर न्यौपानेले कम्पनीप्रति विश्वास र निरन्तर साथ दिने शेयरधनी, प्रमुख अतिथि, नियामक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, साझेदार संस्था, कर्मचारी तथा माछापुच्छ्रे बैंक लिमिटेडप्रति आभार व्यक्त गरे। उनले सबै सरोकारवालाको निरन्तर सहयोग, विश्वास र सहकार्यबाट कम्पनीलाई आगामी दिनमा अझ सुदृढ, सक्षम तथा प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।






