काठमाडौं । लोखिम सरोकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा संघीय सांसद प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले गेल्जेन शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा शेर्कु शेर्पा तथा उपाध्यक्षमा दा कुसाङ शेर्पा, समीर तामाङ, हेम तामाङ र निर्मला राई चयन भएका छन्। त्यस्तै, महासचिवमा कृष्णबहादुर राई, सचिवमा बिगराज तामाङ, कोषाध्यक्षमा अमृता राई र सहकोषाध्यक्षमा टेकमान तामाङ चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा राजकुमार राई, बिनिता तामाङ, शुसिला राई, बिबलाल तामाङ, फुर्वा पासाङ तामाङ, बिना राई, टेकबहादुर राई, मदन तामाङ, भुजेन्द्र राई, सुभास राई र रुपेन्द्र राई रहेका छन्।
सगरमाथा आरोहीदेखि उत्कृष्ट विद्यार्थी सम्मानित
कार्यक्रममा विश्वकै कान्छा सगरमाथा आरोही छिरिङ पासाङ शेर्पासहित विभिन्न आरोहीहरूलाई सम्मान गरिएको थियो। साहसिक क्षेत्रमा हासिल गरेको उपलब्धि तथा नेपालको प्रतिष्ठा अभिवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको समाजले जनाएको छ।
त्यसैगरी, जनता माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने तीन जना विद्यार्थीलाई जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
उत्कृष्ट विद्यार्थीलाई वार्षिक ३० हजार सहयोग
कार्यक्रममा लोखिम सरोकार समाजका संरक्षक सदस्य तथा मोनभिसो फाउन्डेसनका अध्यक्ष लाक्पा तेम्बा शेर्पाले उत्कृष्ट विद्यार्थीहरूलाई वार्षिक ३० हजार रुपैयाँका दरले दुई वर्षसम्म सहयोग गर्ने घोषणा गरेका छन्।
शेर्पाले समाजअन्तर्गत सञ्चालित पवित्रा तामाङ स्मृति कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग समेत प्रदान गरेका छन्।
कोषका लागि ग्लसियर हिमालय ट्रेकका अध्यक्ष तथा समाजका संरक्षक सदस्य दा देण्डी शेर्पाले ५० हजार रुपैयाँ, समाजका वरिष्ठ सल्लाहकार कर्णबहादुर तामाङले २५ हजार रुपैयाँ, धर्म डाँडा शेर्पा समाजका अध्यक्ष लाक्पा दोर्जी शेर्पाले २५ हजार रुपैयाँ, जुबु मामरे निवासी पदम तामाङले ५ हजार रुपैयाँ र समाजका संरक्षक सदस्य दुर्गा तामाङले १ हजार १ सय रुपैयाँ सहयोग गरेका छन्। समाजले स्मृति कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
बाढीपीडितलाई १५ हजार सहयोग
लोखिम सरोकार समाजले प्राकृतिक विपद्बाट प्रभावित बाढीपीडित नागरिकको राहतका लागि प्रधानमन्त्री राहत कोषमा १५ हजार रुपैयाँ सहयोग गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।
साधारणसभामा समाजले विगतमा सञ्चालन गरेका सामाजिक तथा शैक्षिक गतिविधिको समीक्षा गर्दै आगामी दिनमा शिक्षा, सामाजिक सेवा र समुदायको हितमा केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, सहयोगदाता, विद्यार्थी, आरोही तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।







