नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला



काठमाडौं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरेको छ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने नबिल एसएसई फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो। यस कार्यक्रमले सहभागीलाई आफ्नो उद्यमको विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने बैंकले जनाएको छ।

त्यस्तै, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो। यो कार्यक्रम विद्यार्थी, उद्यमशील बन्न चाहने व्यक्ति, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमीलाई लक्षित गरिएको छ।

कार्यक्रममार्फत सहभागीलाई व्यवसायका सम्भावना तथा अवसर पहिचान गर्ने, व्यावसायिक अवधारणाको परीक्षण गर्ने, व्यवहारिक व्यवसायिक मोडल निर्माण गर्ने तथा सञ्चालनमा रहेका उद्यमलाई थप सुदृढ बनाउने विषयमा आवश्यक ज्ञान र सीप प्रदान गरिने बैंकले जनाएको छ।
यस वर्ष सर्टिफिकेट कोर्सका लागि देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्थामार्फत आवेदन खुला गरिएको छ। कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुलमार्फत कार्यक्रम सञ्चालन हुनेछ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत सर्टिफिकेट कोर्स सञ्चालन हुने बैंकले जनाएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुकले आवेदन प्रक्रिया, योग्यता तथा अन्य आवश्यक विवरण नबिल बैंकको वेबसाइट, नबिल बैंक तथा नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम र सम्बन्धित शैक्षिक साझेदार संस्थामार्फत प्राप्त गर्न सक्नेछन्।

आवेदन तथा कार्यक्रमसम्बन्धी थप जानकारीका लागि नबिल बैंकको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक तथा आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नबिल एसएसईमार्फत सामाजिक उद्यमशीलताको प्रवर्द्धन, रोजगारी सिर्जना तथा दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्य बैंकले लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ३१ गते बुधवार