काठमाडौं, भदौ २७ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा बिहान १० बजे सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १६.३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको थियो।
ऋण तथा ओभरड्राफ्ट नवीकरणलाई अनुमोदन
साधारणसभाले एनएमबि बैंक लिमिटेडबाट लिने ऋण तथा ओभरड्राफ्ट खाता नवीकरण गर्ने सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णयलाई समेत अनुमोदन गरेको छ। त्यस्तै, सञ्चालक समितिको बैठक भत्ता पुनरावलोकन तथा समायोजन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई पनि स्वीकृति दिएको छ।
अन्य जलविद्युत् आयोजनामा लगानी गर्न अख्तियारी
कम्पनीले अन्य जलविद्युत् आयोजना वा कम्पनीहरूमा शेयर लगानी गर्न सक्ने गरी सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ। यसले कम्पनीको आगामी लगानी तथा विस्तार रणनीतिलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।
विपद्पीडितलाई सहयोग
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले प्राकृतिक विपत्तिका कारण जनधन तथा जलविद्युत् आयोजनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभयो।
उहाँले बाढी तथा हिमपहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा शीघ्र उद्धार, राहत तथा पुनर्निर्माण आवश्यक रहेको बताउनुभयो। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को समयमा उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको जानकारीसमेत सभामा दिइयो।
जलविद्युत्मा दीर्घकालीन लगानीको सम्भावना
अध्यक्षले जलविद्युत् क्षेत्रलाई नेपालको आर्थिक विकास र दीर्घकालीन लगानीका लागि महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गर्नुभयो। नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) ले आयोजनाको दीर्घकालीन आम्दानी सुनिश्चित गर्ने आधार तयार गरेको उहाँको भनाइ थियो।
आयोजना निर्माण सम्पन्न भएपछि सञ्चालन खर्च तुलनात्मक रूपमा व्यवस्थापनयोग्य हुने र लामो समयसम्म विद्युत् उत्पादनबाट प्रतिफल प्राप्त गर्न सकिने भएकाले जलविद्युत्मा लगानीको सम्भावना बलियो रहेको उहाँले बताउनुभयो।
कम्पनीको लगानीलाई केवल व्यावसायिक प्रतिफलसँग मात्र नभई देशको ऊर्जा विकास, भावी पुस्ताको उज्यालो भविष्य र राष्ट्रिय समृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा समेत अध्यक्षले जोड दिनुभयो।
सभामा सहभागी शेयरधनीहरूले कम्पनीको प्रगति, भावी रणनीति तथा प्राकृतिक विपत्तिको समयमा कम्पनीले निर्वाह गरेको सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका थिए।















