नाडा अटो शो २०२६ को सम्पूर्ण तयारी पूरा, २१५ भन्दा बढी स्टल



काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २१५ भन्दा बढी स्टल निर्माण भइसकेका छन् । प्रदर्शनी अघिल्ला वर्षको तुलनामा थप व्यवस्थित र आकर्षक बनाइएको नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए ।

प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र अन्तर्राष्ट्रिय बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ । अवलोकनकर्ताको सहजताका लागि सवारीसाधन, वित्त, बीमा, सर्भिस र पार्ट्ससम्बन्धी जानकारी लिन सकिने गरी छुट्टाछुट्टै क्षेत्रको व्यवस्था गरिएको छ । यसबाट नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकले मूल्य, सुविधा, बीमा तथा वित्तीय सेवाबारे एकै स्थानमा जानकारी लिन सक्नेछन् ।

नाडाका अनुसार प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको छ । अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै नाडाले अग्रिम टिकट बुकिङको व्यवस्था पनि गरेको छ । खल्ती एप वा आधिकारिक क्यूआर कोडमार्फत टिकट काट्न सकिनेछ । सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ ।

भोलि बिहान साढे १० बजेदेखि सुरु हुने प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको नाडाले जनाएको छ । प्रदर्शनीमा नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियन तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा अवलोकनकर्ताका लागि सवारी पार्किङको व्यवस्था गरिएको छ । साथै, ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलब्ध हुनेछन् ।

नाडाका अनुसार प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीसमेत जडान गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार