काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले विश्वको वातावरणीय सन्तुलन र जलवायु संरक्षणमा नेपालले महत्वपूर्ण योगदान दिँदै आए पनि नेपाली जनताले हरेक वर्ष बाढी, पहिरो तथा अन्य जलवायुजन्य विपद्को पीडा भोग्नुपरेको बताएकी छन् । साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरू उपस्थितिमा सम्मेलनमा उनले यस्तो बताएकी हुन्
नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै डा. कार्कीले जलवायु परिवर्तन, जलवायु न्याय, क्षतिपूर्ति, ‘लस एन्ड ड्यामेज फन्ड’ तथा जलवायु उत्थानशीलताजस्ता विषयमा धारणा राखेकी हुन् । त्यसक्रममा उनले ‘नेपालले सहानुभुति होईन, जलवायु न्याय चाहिरहेको छ’ भन्दै एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनले जलवायु सम्बन्धि स्पष्ट घोषणापत्र जारी गर्नुपर्ने माग गरिन् ।
अभिव्यक्तिको सुरुवातमा डा. कार्कीले हालै नेपालमा आएको भोटेकोशीको विनाशकारी बाढीको दर्दनाक अवस्थाको भिडियो विभिन्न देशका सांसद तथा मन्त्रीहरूलाई देखाउँदै तथ्यांक सहित नेपालको वास्तविक अवस्था राखिन् । अनि जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून रहेको, तर नेपालले विशवकै लागी पुस्तौँदेखि हिमालय, हिमनदी, वनजंगल, नदी तथा समग्र हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्दै आएको बताइन् ।
उनका अनुसार, जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूलाई केवल राहत वा सहानुभूति होइन, पूर्वानुमानयोग्य, पहुँचयोग्य र अतिरिक्त जलवायु वित्त, अनुकूलनका लागि लगानी तथा लस एन्ड ड्यामेज फन्डको प्रभावकारी कार्यान्वयन आवश्यक छ । यसै सम्मेलनअन्तर्गत आयोजित केहि सत्रहरूमध्ये डा. तोसिमा कार्कीले नेपालको तर्फबाट ‘केयर इकोनोमी र सस्टेनेबल डेभलपमेन्ट’ सम्बन्धी एक महत्वपूर्ण सत्रको अध्यक्षतासमेत गरेकी थिइन् ।
त्यसपछि आयोजित जलवायु परिवर्तनसम्बन्धी सत्रमा उनले नेपालको तर्फबाट विशेष प्रस्तुति दिँदै हिमालय, नेपाल र समग्र एसिया–प्यासिफिक क्षेत्रको जलवायु संकटबारे अन्तर्राष्ट्रिय समुदायलाई सजग गराइन् । उनले जलवायु परिवर्तनलाई केवल वातावरणीय समस्या नभई विकास, अर्थतन्त्र, खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य र अन्तत: न्यायसँग जोडिएको संकटका रूपमा व्याख्या गर्दै जलवायु संकटविरुद्ध तत्काल र सामूहिक कदम चाल्न आवश्यक रहेको बताइन् ।






