धर्म गौतमको ‘बीपी र विद्रोहका ती दिन’ विमोचन, बीपीका विचारलाई स्वार्थअनुकूल व्याख्या नगर्न गगन थापाको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जननायक बीपी कोइरालाका विचार र राजनीतिक निर्णयलाई व्यक्तिगत तथा राजनीतिक स्वार्थअनुकूल व्याख्या गर्न नहुने बताएका छन्। बीपी कोइरालासँगको लामो राजनीतिक सामीप्यमा रहेका कांग्रेस नेता धर्म गौतमद्वारा लिखित राजनीतिक संस्मरणात्मक पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ को विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सभापति थापाले पुस्तक विमोचन गर्दै बीपी कोइराला केवल नेपाली कांग्रेसका नेता मात्र नभई समयभन्दा अगाडि सोच्न सक्ने महान् राजनीतिक चिन्तक भएको बताए। उनले बीपीका विचार, संघर्ष र योगदानबारे उहाँसँग प्रत्यक्ष रूपमा संगत गरेका पुराना पुस्ताका व्यक्तिहरूबाट अझै धेरै संस्मरण र तथ्यहरू सार्वजनिक हुनुपर्ने धारणा राखे।

थापाले बीपीको २०३३ सालको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता तथा लोकतान्त्रिक मूल्य–मान्यतासँग जोडिएको ऐतिहासिक निर्णय भएको उल्लेख गरे। पछिल्लो समय राजनीतिक नेताहरूले आफ्नो आवश्यकता र स्वार्थअनुसार बीपीका विचार तथा राष्ट्रिय मेलमिलापको नीतिलाई व्याख्या गर्ने प्रवृत्ति बढेको भन्दै उनले त्यसप्रति असन्तुष्टि जनाए।

उनले बीपी र गणेशमान सिंहजस्ता ऐतिहासिक नेताहरूको योगदानलाई कुनै व्यक्ति वा परिवारको सीमाभित्र बाँध्न नहुने बताए। कांग्रेसलाई केवल एउटा राजनीतिक दलका रूपमा नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण ‘राष्ट्रिय शक्ति’ का रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।


कार्यक्रममा लेखक धर्म गौतमले आफूले आफ्नै राजनीतिक जीवन र अनुभवलाई केन्द्रमा राखेर पुस्तक तयार गरेको बताए। बीपी कोइरालासँगको आफ्नो सामीप्य, राजनीतिक सहकार्य तथा भारत निर्वासनका क्रममा भोगेका विभिन्न घटना र अनुभवलाई पुस्तकमा संस्मरणात्मक शैलीमा समेटिएको छ।

गौतम बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि नेपाल पठाएका विश्वासपात्रमध्ये एक रहेको प्रकाशित विवरणमा उल्लेख छ। पुस्तकमा पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसले अघि बढाएको सशस्त्र संघर्षका प्रसंग, बीपीसँगको राजनीतिक सहकार्य तथा त्यस समयका महत्वपूर्ण राजनीतिक घटनालाई समेटिएको छ।

कार्यक्रममा लेखक तथा पत्रकार हरिहर विरहीले धर्म गौतमले महत्वपूर्ण राजनीतिक संस्मरण पाठकमाझ ल्याएको बताए। उनले बीपीसँग नजिक रहेर कांग्रेसको राजनीतिक गतिविधिमा सक्रिय गौतमका अनुभवहरू नेपाली राजनीतिक इतिहास बुझ्न महत्वपूर्ण हुने धारणा राखे। पुस्तकभित्र बीपीको सोच, दर्शन, राष्ट्रिय मेलमिलापको नीति तथा तत्कालीन राजनीतिक घटनाक्रमसँग सम्बन्धित विभिन्न प्रसंग समेटिएको बताइएको छ।

कृतिकार गौतमले पुस्तकबाट प्राप्त लेखकस्वमा आफ्नोतर्फबाट केही रकम थप गरी गाउँको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन्। किताब पब्लिसर्सले प्रकाशनमा ल्याएको ‘बीपी र विद्रोहका ती दिन’लाई बीपी कोइरालाको राजनीतिक जीवन, कांग्रेसको संघर्ष र त्यस समयको राजनीतिक परिवेशलाई प्रत्यक्ष अनुभवका आधारमा बुझ्न सहयोग गर्ने संस्मरणात्मक कृतिका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार