भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिने भएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यसपछि एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.४९ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । त्यस्तै प्राइम कमर्सियल बैंकले ६.७५ प्रतिशत, ग्लोबल आईएमई बैंकले ६.२५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.०७ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् ।
भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३ प्रतिशतमा झरे पनि केही बैंकले लामो अवधिको मुद्दती निक्षेपमा तुलनात्मक रूपमा बढी ब्याजदर कायम गरेका छन् ।
बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर अवधि र निक्षेपकर्ताको प्रकारअनुसार फरक–फरक निर्धारण गरेका छन् । त्यसैले मुद्दतीमा रकम राख्नुअघि सम्बन्धित बैंकले तोकेको अवधि, ब्याज भुक्तानीको व्यवस्था र अन्य सर्तसमेत हेर्नुपर्ने हुन्छ ।
यसैबीच, भदौ महिनामा नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बाँकी १५ वाणिज्य बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।







