काठमाडौं । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत पहिलो कार्यक्रम शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।
अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाको सहभागिता रहनेछ।
मन्त्रालयले शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाएको छ। प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझाव, धारणा र आवश्यकतालाई संकलन गरी नीति निर्माणमा समेट्ने मन्त्रालयको तयारी छ।
सातै प्रदेशमा हुने प्रत्यक्ष संवादबाट शिक्षा क्षेत्रका विद्यमान समस्या, सुधारका आवश्यकता तथा ऐनमा समेटिनुपर्ने विषय पहिचान गरी प्रस्तावित शिक्षा ऐनलाई थप व्यावहारिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।






