काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल (साबिकको स्पाइस सेल प्रालि) को स्थापनाकालदेखि हालसम्म भएका शेयर तथा स्वामित्व खरिद–बिक्रीमध्ये अधिकांश शंकास्पद र नेपालबाहिर (अफसोर) भएको निष्कर्ष छानबिन समितिले निकालेको छ।
सरकारद्वारा गठित छानबिन समितिले तयार पारेको ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ ले एनसेलको शेयर कारोबारमा गम्भीर पारदर्शिताको प्रश्न उठाएको हो। प्रतिवेदनअनुसार कम्पनी स्थापना भएदेखि हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद–बिक्री भएको देखिएको छ, जसमध्ये धेरैजसो कारोबार अफसोर रूपमा नेपालबाहिरै सम्पन्न भएका छन्।
यसरी विदेशमा भएका कारोबारसँग सम्बन्धित लेनदेनका आधिकारिक अभिलेख तथा विवरणहरू कम्पनीले नेपालका सम्बन्धित सरकारी निकायमा पेस गरेको नदेखिएको समितिले औंल्याएको छ। झनै गम्भीर विषय त, कतिपय नेपाली शेयरधनीको कारोबारको भुक्तानीसमेत नेपालको बैंकिङ प्रणालीबाट नभई विदेशमै भएको प्रतिवेदनले उजागर गरेको छ।
विगतका शेयर खरिद–बिक्रीमा नेपाल तथा विदेशमा विभिन्न कम्पनीमार्फत भएका यस्ता कारोबार अपारदर्शी देखिएकाले राज्यलाई ठूलो आर्थिक नोक्सानी भएको हुनसक्ने समितिको ठहर छ। समितिले यी कारोबारहरूमा राजस्व चुहावट, विदेशी मुद्रा अपचलन र सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर विषय जोडिएको हुनसक्ने भन्दै सम्बन्धित निकायबाट तत्काल थप अनुसन्धान गर्न कडा सुझाव दिएको छ।
यसैगरी, पछिल्लो समय आजियाटा र स्पेक्ट्रालाइटबीच भएको शेयर कारोबारसमेत स्वाभाविक नदेखिएको निष्कर्ष समितिले निकालेको छ। उक्त शेयर खरिद–बिक्री प्रक्रिया ‘आर्म्स लेन्थ प्रिन्सिपल’ (Arm’s Length Principle) अर्थात् स्वतन्त्र र व्यावसायिक मूल्यको सिद्धान्त अनुरूप नभएको भन्दै समितिले पछिल्लो कारोबारमाथि पनि गम्भीर प्रश्न उठाएको छ।
राज्यका निकायलाई छल्दै विदेशमै कारोबार र भुक्तानी हुने प्रवृत्तिले विदेशी लगानीको नियमन र अनुगमनमा राज्यका निकायहरूको कमजोरीसमेत औंल्याएको छ। थप अनुसन्धानपछि मात्रै यसमा संलग्न पक्ष र चुहावट भएको यथार्थ रकमको पूर्ण विवरण बाहिर आउने अपेक्षा गरिएको छ।






