काठमाडौं, साउन १८ – चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस) ले विश्व ऋण परिषद् (WOCCU) बाट प्रदान गरिने प्रतिष्ठित ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ प्राप्त गर्दै नेपाली सहकारी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको छ। यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली बचत तथा ऋण सहकारी संस्था बनेसँगै चन्द्रागिरि साकोसले यस उपलब्धिलाई समग्र नेपाली सहकारी अभियानको ऐतिहासिक सफलता भएको जनाएको छ।
अष्ट्रेलियाको सिड्नीमा आयोजित अन्तर्राष्ट्रिय क्रेडिट युनियन सम्मेलन–२०२६ अन्तर्गत जुलाई २१ मा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारणसभामा संस्थालाई उक्त सम्मान प्रदान गरिएको थियो। डिजिटल वित्तीय सेवा विस्तार, प्रविधिमैत्री सदस्य सेवा, वित्तीय समावेशीकरण तथा नवप्रवर्तनमा पुर्याएको योगदानको कदर गर्दै WOCCU ले चन्द्रागिरि साकोसलाई सम्मानित गरेको हो।
उक्त उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले यो सम्मानले चन्द्रागिरि साकोसको डिजिटल रूपान्तरणलाई विश्वमञ्चमा स्थापित गर्नुका साथै नेपालको सहकारी क्षेत्रप्रति अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताए। उनका अनुसार यो उपलब्धि विगतको सफलताको मात्र सम्मान नभई आगामी दिनमा सदस्य केन्द्रित सेवा र नवप्रवर्तनलाई अझ प्रभावकारी बनाउने प्रेरणा पनि हो।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरि साकोसको सफलता सम्पूर्ण नेपाली सहकारी अभियानको गौरव भएको उल्लेख गर्दै यसले नेपालको सहकारी क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ मजबुत बनाएको बताए।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले चन्द्रागिरि साकोसले डिजिटल नवप्रवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै विश्वस्तरीय सम्मानसँगै संस्थामाथि थप जिम्मेवारी पनि थपिएको बताए। उनले सदस्यमैत्री र प्रविधिमैत्री सेवाको निरन्तर विस्तार आवश्यक रहेको धारणा व्यक्त गरे।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार हाल चन्द्रागिरि साकोसको करिब ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको छ। मोबाइल बैंकिङ, एटीएम, क्यूआर भुक्तानीलगायतका सेवामार्फत सदस्यलाई सहज सेवा उपलब्ध गराइएको उनले बताए।
संस्थाका करिब २४ हजार सदस्यमध्ये झण्डै आधाले मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन् भने करिब ४० प्रतिशत सदस्य युवा रहेका छन्।
श्रेष्ठले सहकारी क्षेत्रमा सकारात्मक अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता सम्मानले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सदस्य केन्द्रित सेवा र सुशासनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
चन्द्रागिरि साकोसले वर्षभरि काउन्टर सेवा, २४सै घण्टा डिजिटल सेवा, महिला सशक्तीकरण कार्यक्रम, सामाजिक सुरक्षा, एम्बुलेन्स तथा शववाहन सेवा लगायतका सदस्यमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाका अनुसार हाल यसको शेयर पुँजी २२ करोड ९२ लाख रुपैयाँ, जगेडा कोष ११ करोड २९ लाख रुपैयाँ, कुल संस्थागत पुँजी ३४ करोड २४ लाख रुपैयाँ, बचत संकलन ३ अर्ब ९ करोड रुपैयाँ, ऋण लगानी २ अर्ब २८ करोड रुपैयाँ तथा कुल सम्पत्ति ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।







