काठमाडौं, साउन १० । Hero MotoCorp अन्तर्गतको विद्युतीय दुईपांग्रे ब्रान्ड VIDA ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत अत्याधुनिक विद्युतीय स्कुटर र अफ–रोड बाइक नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको हो।
नेपाल प्रवेशसँगै कम्पनीले दैनिक प्रयोगका लागि डिजाइन गरिएको VIDA VX2 स्कुटर सिरिज तथा युवा पुस्तालाई लक्षित VIDA DIRT.E K3 विद्युतीय अफ–रोड बाइक सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नेपाली सडक र उपभोक्ताको आवश्यकता ध्यानमा राखेर यी मोडल विकास गरिएको हो।
VIDA VX2 स्कुटर दुई भेरियन्ट—VX2 Plus र VX2 Go—मा उपलब्ध हुनेछ। VX2 Plus मा ४.४ kWh क्षमताको निकाल्न मिल्ने डुअल ब्याट्री रहेको छ, जसले वास्तविक अवस्थामा करिब १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने DC फास्ट चार्जिङमार्फत ६५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
त्यस्तै VX2 Go मा २.२ kWh क्षमताको निकाल्न मिल्ने ब्याट्री रहेको छ, जसले करिब ७५ किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ। दुवै मोडलमा घरमै सामान्य ५ एम्पियर सकेटबाट ब्याट्री चार्ज गर्न सकिने सुविधा, My VIDA App, नेभिगेसन, जियो–फेन्सिङ, कल तथा एसएमएस सूचना र OTA अपडेटजस्ता स्मार्ट कनेक्टेड फिचर उपलब्ध छन्।
यस्तै, VIDA DIRT.E K3 विद्युतीय अफ–रोड बाइक विशेषगरी किशोर तथा युवा राइडरलाई लक्षित गरी विकास गरिएको कम्पनीले जनाएको छ। यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार परिवर्तन गर्न सकिने एडाप्टिभ डिजाइन, एपमार्फत अभिभावकीय नियन्त्रण (Parental Control) तथा तीनवटा स्पिड मोड उपलब्ध छन्। ३५० वाट मोटर र निकाल्न मिल्ने ब्याट्रीले सुसज्जित यो बाइकले सडक अवस्था र प्रयोगको आधारमा करिब तीन घण्टासम्म राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
VIDA को नेपाल प्रवेशबारे Hero MotoCorp को Emerging Mobility Business Unit की प्रमुख व्यवसाय अधिकृत कौशल्या नन्दकुमारले नेपालबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गर्न पाउँदा गर्व लागेको बताइन्। नेपाल विद्युतीय सवारीका लागि रणनीतिक रूपमा महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै उनले सीजी मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई गुणस्तरीय, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे सवारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल हरित यातायाततर्फ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै VIDA को आगमनले विद्युतीय दुईपांग्रे बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे। Hero MotoCorp सँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपालको दिगो यातायात विकासमा योगदान पुर्याउने उनको भनाइ थियो।
कम्पनीका अनुसार उत्कृष्ट डिजाइन र प्रविधिका कारण VIDA DIRT.E K3 ले Red Dot Design Award 2025 र CES Innovation Award 2026 प्राप्त गरिसकेको छ। साथै VIDA VX2 ले पनि विश्वप्रसिद्ध अनुसन्धान संस्था JD Power को Two-Wheeler Initial Quality Study मा उत्कृष्ट स्थान हासिल गरेको कम्पनीले जनाएको छ।
सन् २०१४ देखि नेपाली बजारमा उपस्थित Hero MotoCorp ले VIDA ब्रान्डमार्फत स्मार्ट, दिगो र भविष्यमुखी विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गरेको जनाएको छ। कम्पनीका उत्पादन हाल एशिया, अफ्रिका, युरोप, मध्य तथा ल्याटिन अमेरिकासहित ५३ देशमा उपलब्ध छन् र Hero MotoCorp लगातार २५ वर्षदेखि विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनीका रूपमा स्थापित रहेको कम्पनीको दाबी छ।






