बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा प्रह्लाद तिमिल्सिनाको उम्मेदवारी, व्यवसायीमुखी एजेन्डा सार्वजनिक



काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको शनिबार (श्रावण १६) हुने अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रह्लाद तिमिल्सिनाले व्यवसायीको हकहित संरक्षण र संस्थाको सुदृढीकरणलाई केन्द्रमा राख्दै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

“तपाईंको साथ, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका तिमिल्सिनाले पेट्रोलियम व्यवसायलाई थप सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउने लक्ष्यसहित विभिन्न एजेन्डा अघि सारेका हुन्।

उनले व्यवसायीको वास्तविक लागतलाई आधार मानेर कमिसन वृद्धि गराउन पहल गर्ने, लामो समयदेखि समाधान हुन नसकेको वर्किङ लसको समस्या सम्बोधन गर्ने, तथा नीतिगत सुधार र कर प्रणालीलाई व्यवहारिक बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्। साथै अव्यावहारिक कर व्यवस्थामा सुधार, निरीक्षण तथा अनुगमन प्रक्रियालाई पारदर्शी र सहज बनाउने दिशामा पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

तिमिल्सिनाले डिलर्सहरूको कानुनी अधिकारको संरक्षण, सुरक्षित व्यावसायिक वातावरण निर्माण, संगठनभित्र एकता, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्दै सदस्यबीच आपसी सहकार्यलाई अझ बलियो बनाउने योजना पनि सार्वजनिक गरेका छन्।

उनको प्रतिबद्धतापत्रमा व्यवसायीको क्षमता विकासका लागि तालिम, सूचना प्रवाह तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने, साथै व्यवसायीका साझा समस्याको समाधानका लागि सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने विषयलाई समेत समेटिएको छ।

“एकता, विश्वास र विकास” लाई आफ्नो अभियानको मूल आधार बनाएका तिमिल्सिनाले व्यवसायीको विश्वासलाई सम्मान गर्दै जिम्मेवार नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अधिवेशनमा सहभागी सम्पूर्ण सदस्य व्यवसायीलाई परिवर्तन र संस्थाको थप सुदृढ भविष्यका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार