काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले उक्त करको विषयमा आफ्नो पार्टीले सुरुदेखि नै प्रश्न उठाउँदै आएको स्मरण गराएका छन्। सरकारको पछिल्लो निर्णयलाई सकारात्मक कदमको रूपमा व्याख्या गर्दै उनले यसलाई व्यवहारिक नीति सुधारको सुरुवातका रूपमा लिनुपर्ने बताएका छन्।
थापाले सरकारलाई बिजुलीमा लगाइएको भ्याटसहित आमनागरिकलाई प्रत्यक्ष असर पार्ने अन्य अव्यावहारिक कर र नीतिगत त्रुटिहरू पनि सच्याउन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्।”
सरकारले हालै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता कर कार्यान्वयन नगर्ने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भइरहेको छ। त्यससँगै ऊर्जा लगायत अन्य क्षेत्रमा लागू भएका कर नीतिको पनि पुनरावलोकन हुनुपर्ने आवाज उठ्न थालेको छ।





