ठमेल पर्यटन विकास परिषद्को कोषाध्यक्षमा किन्चु ल्हामु भुटिया श्रेष्ठको उम्मेदवारी, पारदर्शी आर्थिक व्यवस्थापनमा जोड



काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनलाई लक्षित गर्दै पर्यटन तथा पश्मिना व्यवसायमा सक्रिय उद्यमी किन्चु ल्हामु भुटिया श्रेष्ठले कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले आगामी असार २७ गते हुने निर्वाचनमा राजु मान डंगोल नेतृत्वको समावेशी समूहबाट उम्मेदवारी दिनुभएको हो।

रेड क्यास्मेर तथा टेस्ट अफ सिक्किमकी सञ्चालक श्रेष्ठले परिषद्को आर्थिक व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउने आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ। व्यवसायिक अनुभव र वित्तीय अनुशासनका आधारमा संस्थाको आर्थिक पक्षलाई थप सुदृढ बनाउँदै प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

उहाँका अनुसार ठमेल नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको दिगो विकासका लागि पर्यटन व्यवसायीबीच सहकार्य, विश्वास र समन्वय अझ मजबुत बनाउन आवश्यक छ। परिषद्ले योजनाबद्ध रूपमा काम गर्दै ठमेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने उहाँको धारणा छ।

श्रेष्ठले व्यवसायीहरूको साझा हित संरक्षण, पर्यटन प्रवर्द्धन तथा परिषद्को संस्थागत क्षमता अभिवृद्धिमा आफू सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

पर्यटन तथा हस्तकला व्यवसायमा लामो समयदेखि सक्रिय श्रेष्ठ नेपाल पश्मिना उद्योगको व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। बुबा पुष्पमान श्रेष्ठ र श्रीमान् अनुप श्रेष्ठसँगको सहकार्यमा सञ्चालित नेपाल पश्मिना उद्योगले नेपाली पश्मिना उत्पादनको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

व्यवसायिक यात्रासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय श्रेष्ठले पर्यटन विकास, उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायीबीच सहकार्य विस्तारका विभिन्न गतिविधिमा निरन्तर योगदान दिँदै आउनुभएको छ।
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन नजिकिँदै जाँदा विभिन्न पदका उम्मेदवारहरूले आफ्ना योजना र प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्। यसक्रममा कोषाध्यक्ष पदमा किन्चु ल्हामु भुटिया श्रेष्ठको उम्मेदवारीले परिषद्को आर्थिक नेतृत्वमा अनुभवी, व्यवसायिक र सक्षम महिला नेतृत्वको उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार