ठमेल पर्यटन विकास परिषद्को निर्वाचन असार २७ मा, अध्यक्षमा प्रश्रय राजभण्डारीको उम्मेदवारी



काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को नयाँ कार्यसमिति चयनका लागि २०८३ साल असार २७ गते निर्वाचन हुने भएको छ। परिषद्को आगामी नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भइसकेको छ।

सन् १९८९ मा स्थापना भएको परिषद्ले काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको दिगो विकास, व्यवस्थापन तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। स्थानीय घरधनी तथा पर्यटन व्यवसायीहरूको पहलमा स्थापना भएको परिषद्ले सरकारी निकाय र सरोकारवालासँग सहकार्य गर्दै पर्यटकमैत्री वातावरण निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटन व्यवसायको प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको छ।

परिषद्ले ठमेलमा २४ सै घण्टा व्यवसाय सञ्चालनको अवधारणालाई प्रवर्द्धन गर्नुका साथै पर्यटक सूचना सेवा विस्तार, सडक बत्ती तथा सीसीटीभीमार्फत सुरक्षा व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण तथा घरधनी र पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ।

निर्वाचनमा अध्यक्ष पदका लागि प्रश्रय राजभण्डारीले उम्मेदवारी दिएका छन्। त्यसैगरी प्रथम उपाध्यक्षमा कृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ, तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवमा पुण्यराम लाछेझु, सचिवमा प्रकाश थपलिया तथा कोषाध्यक्षमा रमेश अधिकारी उम्मेदवार रहेका छन्।

सदस्य पदका लागि कमल अर्याल, सोजेश मलाकार, नवीन तामाङ, पूर्णिमा मलाकार, लालबाबु चौधरी, गोविन्दकुमार श्रेष्ठ, मीरा अधिकारी र सोमईप्रसाद बनियाँ (आलोक) प्रतिस्पर्धामा छन्।

निर्वाचनबाट चयन हुने नयाँ कार्यसमितिले ठमेलको पर्यटन प्रवर्द्धन, दिगो शहरी व्यवस्थापन, पर्यटक सुरक्षा तथा क्षेत्रको मौलिक सांस्कृतिक पहिचान संरक्षणलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार