एमाले नेतृत्व परिवर्तनको केन्द्रमा विद्या भण्डारी, ओली हटाउने रणनीतिमा नेताहरू सक्रिय



काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने प्रयास तीव्र बन्दै गएको छ। पार्टीका प्रभावशाली नेताहरूले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने रणनीति अघि बढाएका छन्, जसको केन्द्रमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहेकी छन्।

पार्टीभित्रको एक समूहले वडादेखि केन्द्रसम्मका विद्यमान कमिटीहरू विघटन गरी आयोजक समिति गठन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त आयोजक समितिको नेतृत्व भण्डारीलाई सुम्पेर विशेष अथवा अर्ली महाधिवेशन आयोजना गर्ने तयारी भइरहेको स्रोतको दाबी छ।

यस अभियानमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई तथा नेता गोकर्ण विष्टलगायतका शीर्ष नेताहरू सक्रिय रहेको बताइएको छ। देशव्यापी संगठनात्मक प्रभाव भएका पौडेल र पोखरेल एकै धारमा उभिएपछि नेतृत्व परिवर्तनको पक्षमा बहुमत जुट्ने आकलन पनि गरिएको छ।

एमालेभित्र आगामी नेतृत्वलाई लिएर बढ्दो बहसका बीच भण्डारीलाई पुनः सक्रिय राजनीतिमा स्थापित गर्ने प्रयासले नयाँ शक्ति समीकरणको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार